काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १३ महिनापछि नेपाल वायुसेवा निगमले व्यावसायिक उडान सुरु गरेको छ । आज बिहान ९ः४५ बजे निगमको एक सय ५८ सिट क्षमताको न्यारोबडी जहाज मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।
मलेसियाबाट ९० यात्रु बोकेर आएको राष्ट्रिय ध्वजावाहक जहाज भैरहवास्थित विमानस्थलमा ३१ जना यात्रु ओरालेर काठमाडौँका लागि उडान भरेको नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए । मलेसियामा रोजगारी गरी फर्केका र मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवा विमानस्थलमा ओर्लिएको सहप्रवक्ता घिमिरेको भनाइ छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइनसको गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानको शुभारम्भ गर्नुहुँदै पर्यटन मन्त्री सुदन किरातीले यसको निरन्तरता चुनौतीपूर्ण भएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशनमा व्यावसायिक उडान सुरु भएकाले यसको नियमितताका लागि सरकारी तथा निजी क्षेत्र सबै लाग्नुपर्ने बताए ।
उनले नेपाल एयरलाइन्सलाई आगामी दिनमा स्थायित्व, प्रभावकारी सञ्चालन र बजारीकरणका लागि प्रचारप्रसारमा जोड दिन निर्देशन दिए । “बुद्व सर्किटकै बजारीकणका लागि यो विमानस्थल निर्माण भएको हो । भैरहवाबाट पनि जहाज उडान सकिन्छ भन्ने विश्वास दिलाउनु पर्छ”, उनले भने, “यस विमानस्थलबाट दिल्लीलगायत अन्य गन्तव्यमा पनि उडान गर्ने प्रयास जारी छ ।”
मन्त्री किरातीले निगमलाई पूर्ण व्यावसायिकरुपमा सञ्चालन गर्न र दुर्गमका जनतालाई समेत सेवा प्रदान गर्न नयाँ जहाज किन्नुपर्ने आवश्यकता रहेको बताए । उनले सरकारले निगमका लागि पारदर्शी ढङ्गले जहाज किन्ने प्रक्रियामा रहेको बताए । उनले दुर्गम क्षेत्रमा सेवा दिनका लािग घाटा भए पनि जहाज किन्नुपर्नेमा जोड दिए । मन्त्री किरातीले प्रधानमन्त्री दाहालको हालैसम्पन्न भारत भ्रमण इतिहासमा कोशेढुङ्गा साबित भएको बताउँदै यस्तो ऐतिहासिक सफलतालाई ओझेलमा पार्ने प्रयास भएको बताए ।
प्रतिक्रिया दिनुहोस