काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले पशुपतिनाथमा चढाइएको जलहरी सुनको नभए आफूलाई मृत्युदण्ड दिए स्वीकार्ने दाबी गरेका छन् । मंगलबार बसेको संघीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यस्तो दाबी गरेका छन् ।
थापाले बैठकमा भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरी सुनको हो होइन भनेर जोख्दा खेरी थाहा हुन्छ । त्यहाँ यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु ।’
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको उनले दाबी गरेका छन् । सुनको जलहरी हाल्दै गर्दा हाम्रो प्रदेश सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले सुनको जलहरी हाल्नु हुन्न भनेर अदालतबाट अन्तरिम आदेश ल्याएका थिए ।
‘म आयोगमा बयान दिन जाँदाखेरी पनि सबै जनाले बयानमा जोख्नुस्, जोख्नुस् भन्दाखेरी सबैको एकमत छ जोख्नुपर्छ भनेर । यति त्रुटिपूर्ण भएको हो कि हामीले त्यो ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ । १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै हो। १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ । त्यहाँ लेख्ने कुरामा त्रुटिपूर्ण भएको हो’ थापाले भनेका छन् । ।
आफूले पटक–पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेको उनले गुनासो गरे । बैठकमा भावुक बन्दै थापाले भने, ‘राज्यको पनि कहिलेकाहीँ मलाई लाग्छ–कान मात्रै हुँदो रहेछ, आँखा हुँदो रहेनछ कि जस्तो लाग्छ । मैले यो क्षमासाथ भने। मलाई दुःख लाग्छ। जहाँसम्म यो सुनको जलहरीको कुरा हो । यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्महत्या गर्नुपर्ने हो माननीयज्यूहरू ?’
थापा सुनको जलहरी समितिको संयोजक थिए । नेपाल राष्ट्र बैंकले दिएको सम्झौता अनुसार नै सुन लिएर आएको उनको दाबी छ । केपी ओली प्रधानमन्त्री र विद्या भण्डारी राष्ट्रपति रहेका थिए । उनीहरूको निर्देशनमा सुनको जलहरी राख्नु गल्ती हो भन्ने प्रश्न उनले बैठकमा राखेका थिए ।
‘यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्युटीमा रहेको भिजियोल अहिले आइरहेको छ । सेनालाई विश्वास गर्ने कि नगर्ने? यो सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिसँग पनि कुरा गरेको थिए’, उनले भने ।
प्रतिक्रिया दिनुहोस