aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

दशैंका लागि आजबाट बस टिकट बुकिङ खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
दशैंका लागि आजबाट बस टिकट बुकिङ खुला

काठमाडौँ । यस वर्षको दसैंका लागि आज (आइतबार)देखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमतिअनुसार टिकट बुकिङ खुला हुन गइरहेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आइतबारबाट बसको टिकट खुला हुने र शनिबार नै बसपार्कमा रिबन काटेर नागरिक सहायता कक्षको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्धारा उद्घाटन गरिएको जानकारी दिए ।

उनले उपत्यकाका १४ स्थानमा नागरिक सहायता कक्ष राखिने पनि बताए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा २६ भदौमा यातायात व्यवसायीसँग बसेको बैठकले आजबाट टिकट खुलाउने सहमति गरेको थियो ।

उपत्यकाबाट बाहिर जानेका लागि कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुनधारा, नागढुंगा, जगाती र लगनखेललगायतका स्थानमा अग्रिम बुकिङ सुरु हुनेछ ।

महासचिव सिटौलाले यात्रुको चाप हेरेर रुटअनुसार बस थप गर्दै जाने बताए । ‘पहिलो दिन यात्रुहरूको भीडभाड होला नै, हामी यात्रुको चापलाई हेरेर रुटअनुसार बस थप्दै जाने तयारीमा छौं, उनले राजधानीसँग भने, ‘काम थालेपछि केकस्तो हुन्छ समीक्षा गर्दै अघि बढ्छौं ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस