aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नेपालमा महँगीले नेटो काट्दा, भारतमा भने मुद्रास्फीति नकारात्मक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ३१ जेठ २०८०
नेपालमा महँगीले नेटो काट्दा, भारतमा भने मुद्रास्फीति नकारात्मक

काठमाडौँ । नेपालमा महँगीले नेटो काटिसकेको छ । आम नागरिकको भान्सा अत्यन्तै महँगो हुँदा दुई छाक टार्न नै नसक्ने अवस्थामा मानिसहरू पुग्दैछन् । सबै क्षेत्रमा आर्थिक मन्दीको चरण देखा पर्दा दिनदिनै व्यापार व्यवसाय बन्द गर्नुपर्ने बाध्यतामा मानिसहरू पुगिरहेका छन् ।

तर, हाम्रो दक्षिणी छिमेकी मुलुक भारतमा भने स्थिति ठिक उल्टो छ । त्यहाँ मूल्य वृद्धि नकारात्मक छ । अघिल्लो महिना भन्दा यो महिना सस्तो मूल्यमा समान खरिद गर्ने अवसर भारतीय नागरिकहरूले प्राप्त गरिरहेका छन् ।

भारतको थोक मुद्रास्फीति अप्रिलमा ० दशमलव ९२ प्रतिशतले घटेपछि मे महिनामा सरदर मुद्रास्फीति ३ दशमलव ४८ प्रतिशतले घटेको छ । त्यहाँको  वाणिज्य तथा उद्योग मन्त्रालयले बुधबार जारी गरेको आधिकारिक तथ्याङ्कमा यस्तो देखिएको हो ।

भारतमा थोक मुद्रास्फीति दर घटेको यो लगातार तेस्रो महिना हो । "मे महिनामा मुद्रास्फीति दरमा गिरावट मुख्यतया खनिज तेल, आधारभूत धातु, खाद्य उत्पादन, कपडा, गैर-खाद्य वस्तु, कच्चा पेट्रोलियम र प्राकृतिक ग्यासको मूल्यमा आएको गिरावटले योगदान गरेको छ," मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एक मिडिया रिपोर्टका अनुसार यो विगत तीन वर्षमा थोक मुद्रास्फीतिको सबैभन्दा कम दर हो।

यसैबिच, भारत सरकारले दुई दिनअघि सार्वजनिक गरेको तथ्याङ्कले देशको खुद्रा मुद्रास्फीति दर अप्रिलमा ४ दशमलव ७ प्रतिशत र मार्चमा ५ दशमलव ७ प्रतिशत रहेकोमा ४ दशमलव २५ प्रतिशतमा झरेको देखाएको छ ।

भारतमा विगत आठ वर्ष अघिको स्तरमा मूल्य दर झरेको त्यहाँका सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस