
कास्की । अर्थमन्त्री डा युवराज खतिवडाले अहिले सरकारले ल्याएको आर्थिक नीतिप्रति व्यवसायीले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन । अर्थमन्त्री डा. खतिवडाले कर प्रणाली नयाँ जुत्ता लगाउँदा शुरुमा असहज भएजस्तै पछि बानी परेपछि सहज र मनपर्दो हुने जानकारी समेत गराए । आर्थिक वृद्धि र समृद्धि हासिल गर्न वित्तीय अनुशान कायम गर्नुपर्ने भन्दै सरकार यस विषयमा सजग भएको उनको धारणा थियो ।
उनलेव्यवसायको वातावरण सुधार हुँदै गएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन । कास्कीको पोखरा उद्योग वाणिज्य सङ्घको ६५औँ वार्षिक अधिवेशनमा उनले देशको अर्थतन्त्र सकारात्मक उन्मुख भइरहेकाले व्यवसायीलाई निराश नभई उत्साहित हुन आग्रह गरेका हुन।
मन्त्री डा.खतिवडाले उत्पादनमा जोड दिई पूँजी बजारको विकासलाई प्राथमिकता दिएको र लगानीको क्षेत्र पहिचान गरिरहेको बताउनुभयो । काठमाडौँदेखि पोखरासम्मको बाटोको स्तरोन्नतिका लागि रु ४० अर्ब बजेट छुट्टयाएको उल्लेख गर्दै उनले पूर्वाधार विकासमा रकम खर्चिँदा व्यापारघाटा बढेको देखिएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको बताए । उनले पारदर्शी, स्वच्छ र सदाचारी व्यवसायी बन्न आफैँबाट शुरु गरे भ्रष्टाचार निर्मूल हुने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले लगानीको वातावरण बन्दै गएकाले उद्योगी व्यवसायीले ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुक अस्थिरताबाट दिगो विकासको बाटोमा हिँडेकाले अब सकारात्क नतिजा आउने उनको भनाइ थियो ।
सो अवसरमा सङ्घले आर्थिक पत्रकारिता पुरस्कार, २०७६ बाट पत्रकार भरत कोइरालालाई सम्मान गरेको छ । कोइरालालाई पत्रकारिताको माध्यमबाट पोखराको आर्थिक विकासमा पु¥याएको योगदान स्वरुप रु २५ हजारसहित सम्मान गरिएको हो । यस्तै लक्ष्मी हाउस पोखराद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित लक्ष्मी विद्यापदक, २०७६ पोखराका विभिन्न क्याम्पसबाट व्यवस्थापन सङ्कायमा बिबिएस र बिबिएतर्फ स्नातक र व्यवस्थापनको स्नातकोत्तरमा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ ।
बिबिएसतर्फ पृथ्वीनारायण बहुमुखी क्याम्पसकी छात्रा स्मृति पुर्जा, बिबिएतर्फ पोखरा कलेज अफ म्यानेजमेण्टका छात्र अमृत अधिकारी र स्नानतकोत्तरतर्फ सर्वोत्कृष्ट अङ्क ल्याउने कन्या क्याम्पस पोखराकी छात्रा श्वेताकुमारी गुप्तालाई अर्थमन्त्री खतिवडाले पदकसहित सम्मान गरेका थिए । कार्यक्रममा सङ्घका अध्यक्ष दामु अधिकारीले व्यवसायका समस्या प्रस्तुत गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन अर्थमन्त्री डा. खतिवडासँग आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस