aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नक्कली शरणार्थी प्रकरणको बहस आज सकिँदै, कहिले आउँछ फैसला ?

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, ३२ जेठ २०८०
नक्कली शरणार्थी प्रकरणको बहस आज सकिँदै, कहिले आउँछ फैसला ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणबारे जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहस बिहीबार सकिने सम्भावना रहेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले ‘भोलि जसरी पनि सक्नुपर्छ’ भनेर बुधबार इजलास टुंग्याएका थिए ।

प्रतिवादीका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस गर्न लगाएर उनले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने कि धरौटी वा साधारण तारिखमा छाडेर मुद्दा किनारा लगाउने भन्ने आदेश दिनेछन् ।

इलजासमा बुधबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्वसांसद आङ्टावा शेर्पाका कानुन व्यवसायीहरूले बहस गरेका थिए । बिहीबार भुटानी शरणार्थी नेता टेकनाथ रिजालका तर्फबाट १६, हरिभक्त महर्जनका तर्फबाट दुई र उनकी पत्नी लक्ष्मी महर्जनका तर्फबाट एक जना अधिवक्ताको बहस हुनेछ । त्यसलाई खाजाअघिको समयमै सक्ने योजनामा न्यायाधीश न्यौपाने रहेका छन् ।

प्रतिवादीका तर्फबाट हालसम्म बहस गरेका ७६ कानुन व्यवसायीमध्ये अधिकांशले कानुनी तर्क र जिरहभन्दा अभियोजन गर्ने सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई गाली गरेर बहस सकेका छन् । बाँकी पृष्ठ १०ड पूर्वगृहमन्त्री खाणका पक्षमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले बुधबार बहस गर्दा भिन्न शैली अपनाएका थिए । उनले पक्ष–विपक्षमा ज्यादा बहस गरेनन्, न इजलासतिरै केन्द्रित भए । बहसका क्रममा खाती ‘यहाँ पत्रकार साथीहरू पनि हुनुहुन्छ’ भन्दै सुरुमै पछाडि फर्केर बोलेका थिए । त्यस क्रममा उनले ‘हामीलाई भ्रष्टाचारी बचाउने मान्छे भनेर फोटोसहित छापिदिनुहुन्छ अनि त्यो टिकटकमा भाइरल भएर हेरिनसक्नुको गाली आउँछ’ भनेका थिए ।

प्रतिक्रिया दिनुहोस