aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

देशको आर्थिक स्थिति सुधार्न  महावीर पुन राजनीतिमा आउने !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
देशको आर्थिक स्थिति सुधार्न  महावीर पुन राजनीतिमा आउने !

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा चर्चित सामाजिक अभियन्ता महावीर पुनले आफू बाध्य भएर राजनीतिमा आउनुपर्ने अवस्था सिर्जना हुँदै गएको बताएका छन् । दीर्घकालीन सपना सहित मरिमेटेर काम गर्नेहरूको लागी आवश्यक कानुन बनाउन नेताहरूले नसक्ने र मन्त्रालयका सचिवहरूले कानुन छैन भनेर दुख दिने तरिकाले देशको आर्थिक स्थिति सुधार नहुने र त्यो सह्य नहुने भन्दै उनले यस्तो सङ्केत गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्ट्याटस लेख्दै उनले अहिलेसम्म १ प्रतिशत भन्दा पनि कम सम्भावना रहेका कामहरू आफुले गरेको र गर्नु परेको उल्लेख गर्दै आफू राजनीतिमा आउने सम्भावना भने १ प्रतिशत रहेको बताएका छन् । उनले लेखेका छन् - 'मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरू सुन्नुहोस् र बुझ्नु होस् । म पनि चुनावमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् ।'

पाँच वटा बुँदामा उनले सार्वजनिक गरेका अन्य एक प्रतिशतवाला घटनाहरू निम्न अनुसार छन् :

१. म सानो छँदा हाई स्कुल पढुँला भनेर सोचे कै थिएन । किन भने त्यति बेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाई स्कुल पढाएका थिएनन् । तर जसरी तसरी मेरो बाबाले मलाई हाई स्कुल पढाए र म शिक्षक बनेँ ।

२. मैले ३१ वर्षको उमेर सम्म अमेरिकामा गएर पढ्न जान पाउँला भनेर सोचेकै थिएन । अनि ३२ वर्षको उमेरमा अमेरिका पढ्न जान पाउने सम्भावना १ प्रतिशत पनि थिएन । तर जबर्जस्ति लागेर ३४ वर्ष लाग्दा अमेरिकामा ब्याचलर पढ्ने मौका पाएँ ।

३. म अमेरिका बाट फर्केर नेपालमा बसुँला र गाउँ गाउँमा काम गरुँला भनेर सोचेकै थिएन र के गर्ने भन्ने थाहा नै थिएन । त्यसको सम्भावना १% मात्र थियो होला । तर अमेरिका बाट फर्केर म नेपालमा बसेर काम गरेको ३१ वर्ष भयो ।

४. वायरलेस प्रविधिलाई प्रयोग गरेर नेपालको दुर्गम गाउँहरूमा इन्टरनेट पुर्‍याउने सम्भावना १ प्रतिशत पनि थिएन । विदेशी इन्जिनियरहरूको भनाई अनुसार त त्यो काम असम्भव नै थियो । तर त्यो काम पनि जबरजस्ती सुरु गरियो र सफल भयो ।

५. सन् २०१७ सम्म राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अवस्थामा ल्याउन सकिएला भन्ने १ प्रतिशत जति पनि आशा थिएन । किन भने कुनै पनि सरकार, बैंक र दात्री संस्थाहरूले पटक्कै पत्याएनन् । तर अहिले त आम नागरिकको सहयोगले गर्दा चन्द्रमा सम्म पुग्न नसके पनि नेपाललाई अझै धेरै माथि पुग्ने आँट्छ ।

अन्तमा, मैले नेपालमा राजनैतिक पार्टी खोलेर चुनाव लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावना छैन किन भने म त्यसो गर्न कुनै हालतमा पनि चाहन्न । तर -- अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नवप्रवर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यहि रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । लौ जा, जे पर्ला पर्ला ।

दीर्घकालीन सपना सहित मरिमेटेर काम गर्नेहरूको लागी आवश्यक कानुन बनाउन नेताहरूले नसक्ने र मन्त्रालयका सचिवहरूले कानुन छैन भनेर दुख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रँदैन र त्यो सह्य हुने छैन ।

उनले पछिल्लो स्ट्याटस लेख्नु भन्दा अघि लेखेको अर्को पोष्ट यस्तो थियो :

गण्डकी प्रदेश सरकारले नबप्रबर्तन र अनुसन्धानको लागि आफैले दिन्छु भनेको पैसा नदिए पनि मेरो ईज्जत जाँदैन । माँ कसम, १० करोडको काम मेरै नाममा भएको जग्गा बेचेर भए पनि गरिदिन सक्छु । ति मन्त्रीहरुलाई र सचिबहरुलाई बर्ष भरि मैले कति अनुरोध गरि रहनु । दश बर्ष त पर्ख न, मैले बोलेको कति कुरा पुर्याउने रहेछु !!!

अनुसन्धान र नबप्रबर्तनको माध्यम बाट आर्थिक बिकास गर्न ज्यान फालेर लागेको रष्ट्रिय संस्थालाई अनुदान सहयोग गर्ने कानुन छैन रे, अख्तियारले पकड़छ रे, महालेखाले बेरुजु निकाली दिन्छ रे, पोखरामा अफिस छैन रे । कानुन आफै बन्छ ?? कानुन छैन भने बनाउनु पर्दैन ?? देश बिकास गर्नको लागि अति आबश्यक कानुन नबनाउने हो भने किन चुनाब लडेर सांसद बनेका ??

नबप्रबर्तनको माध्यम बाट उद्यमीहरू बनाउनको लागी कानुन बनाउन नसक्ने बिधायकहरु चम्चाको पानीमा डुबेर मरे हुन्छ नि । कर्मचारीलाई कानुन बनाउन दिएर हुन्छ ??? कर्मचारीले त आफुलाई काम गर्न सजिलो हुने कानुनको मस्यौदा बनाइ दिन्छ । सांसदले बिज्ञ टोली गठन गरेर कानुनको मस्यौदा बनाउनु पर्दैन ???

आर्थिक बिकासको लागी अति आबश्यक कानुन बनाउन नजान्नेहरु किन सांसद बन्नु ?? सांसदको काम आफुलाई फाइदा हुने काम मात्र गर्ने हो ?? बात कर्ता हे ।

प्रतिक्रिया दिनुहोस