aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आलेलाई लक्षित गर्दै मन्त्री किरातीले भने, ‘आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
आलेलाई लक्षित गर्दै मन्त्री किरातीले भने, ‘आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पूर्व मन्त्री प्रेम बहादुर आलेलाई लक्षित गर्दै एक स्ट्याटस लेखेका छन् । जहाँ उनले आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्न भनेका छन् । 

मन्त्री किरातीले लेखेका छन्, ‘बारुदको पहाडमा उभिएर सलाई नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे– आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू !’

उनको यो स्ट्याटस पूर्व मन्त्री आलेलाई लक्षित गरेर लेखेको देखिन्छ । बिहिबार नै संसदमा बोल्दै आलेले पछिल्लो समयमा पशुपतिनाथमा अनियमितता बढेको र त्यहाँ सिसी क्यामेरा भए पनि तार काटेर यस्ता कार्य गरिएको पाइएको आरोप लगाएका थिए । अनियमितताबारे आवश्यक छानबिन गरेर त्यसमा संलग्नलाई कारबाही गर्नुको सट्टा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अनियमितता गर्नेलाई नै संरक्षण दिएको उनको आरोप थियो । 

उनले पशुपति क्षेत्र विकास कोष र पशुपतिनाथ मन्दिरमा पटक पटक भएको अनियमिततामा छानबिन भए पनि दोषीलाई कारबाही नभएकामा आपत्ति जनाए । “गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस पटक पशुपतिनाथमा छिरेको छ”, बैठकको आकस्मिक समयमा सांसद आलेले भने, “पहिलो पटक २०७९ माघ १४ गते तार काटियो । परिषद् सदस्यको संयोजकत्वमा छानबिन समिति बन्यो र सत्य तथ्य पत्ता लगाइ प्रतिवेदन दियो तर तार काट्ने मुसालाई कारबाही नगरी प्रतिवेदन लुकाउने काम गरियो । त्यसपछि फेरि दान पेटिका हरायो ।” 

पटक पटक पशुपतिनाथमा भएको यो अनियमिततामा संलग्न हुने र तार काट्ने व्यक्तिलाई कारबाही नगरेको भन्दै गत वर्ष अर्थ मन्त्रालयमा तार काटेको मुसा अहिले पशुपतिनाथ छिरेको त होइन भनी व्यङ्ग्य गरेका थिए । उनले गोठाटारको सार्वजनिक जग्गासमेत मिलेमतोमा हिनामिना गरेको आरोप लगाए । गोठाटारको पाँच सय ३५ रोपनी जग्गामध्ये पाँच सय चार रोपनी मात्रै हालसाविक गरेर ३१ रोपनी जग्गा बिचौलियासँगको मिलेमतोमा अपचलन गरिएको र त्यसमा संलग्नलाई कोषमा पुरस्कृत गर्ने तथा सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यलाई उल्टै कारबाही गर्ने काम भएको बताए । 

सांसद आलेले नेपाल वायुसेवा निगमको जहाज किन्ने विषयमा असन्तुष्टि व्यक्त गरे । उनले भने, “यस वर्षको महालेखाको प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायुसेवा निगमको घाटा रु एक अर्ब ७० करोड देखिएको छ । वायुसेवाको कूल ऋण रु ५० अर्ब नाघिसक्यो । तर तीन महिनामा निगमले रु चार अर्ब नाफा कमायो भनी पर्यटन मन्त्रीले झुट बोलेको सुनियो ।” 

प्रतिक्रिया दिनुहोस