aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मणिपालले पोखरा महानगरलाई तिर्‍यो झन्डै ३ करोड कर, दशकौँ पुरानो विवाद अन्त्य हुने दिशामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
मणिपालले पोखरा महानगरलाई तिर्‍यो झन्डै ३ करोड कर, दशकौँ पुरानो विवाद अन्त्य हुने दिशामा

काठमाडौँ । भारतीय व्यवस्थापनबाट पोखरा स्थित मणिपाल शिक्षण अस्पताल बतास समुहले किनेपछि पोखरा महानगर पालिका र मणिपाल बीच लामो समयदेखिको विवाद समाधान हुने लक्षण देखिएको छ । मणिपाल शिक्षण अस्पतालले भूमि तथा मालपोत कर बापत २ करोड ८४ लाख रुपैयाँ बुझाएसँगै यस्तो सम्भावना बढेको हो ।

समाचार स्रोतका अनुसार मणिपालले अहिले बुझाएको कर नक्सापास र ३२ रोपनी क्षेत्रफल जमिनको हो जुन मणिपाल आफ्नै नाममा रहेको छ । महानगरका अनुसार मणिपालले भवन नक्सा पास अन्तर्गतको १ करोड ७५ लाख र भूमि तथा मालपोत अन्तर्गतको १ करोड ९ लाख रुपैयाँ महानगरलाई बुझाएको हो ।

अहिले पोखराको स्थापित व्यापारिक घराना बतास समुह र त्यहीँका अन्य स्थानीय व्यापारीको बापो होल्डिंगले मणिपालको स्वामित्व लिएको छ । अघिल्लो वर्ष मात्र भारतीयबाट मणिपाल किनेको यो समुहले विगत लामो समयदेखि पोखराको स्थानीय पालिका र मणिपाल बीच रहेको करको विषयलाई टुङ्ग्याउने प्रयास अन्तर्गत कर बुझाएको मणिपाल सम्बद्ध स्रोतले बताएको छ ।

राजश्व परामर्श समिति सदस्यसमेत रहेका पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । महालेखाको हालै प्रकाशित प्रतिवेदनले पोखराका मणिपालसहित हरियोखर्क अस्पताल, भाटभटेनी सुपरमार्केट, गण्डकी मेडिकल कलेज, नेपाल विद्युत प्राधिकरण, कृषि सामग्री लिमिटेड, फुलबारी रिसोर्ट, पोखरा उद्योग वाणिज्य संघलगायतबाट मालपोत कर तिर्न बाँकी रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस