aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पक्राउ परेका कलाकार बल्छी ध्रुबे, राजु मास्टर र एलिससहितलाई के हुन्छ कारबाही ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, ०१ असार २०८०
पक्राउ परेका कलाकार बल्छी ध्रुबे, राजु मास्टर र एलिससहितलाई के हुन्छ कारबाही ?

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरीचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

पक्राउ पर्नेमा कलाकार पौडेल र श्रेष्ठसहित मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे), राजु पौडेल, पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र बेगम नेपाली रहेका छन् ।

बिहीबार प्रहरीले उनीहरूलाई पक्राउ गरी सरकारी वकिलको कार्यालयमा म्याद थपका लागि उपस्थित गराएका थिए । प्रहरीले पक्राउ परेकाहरूले युट्युबबाट वानएक्स एपमार्फत बेटिङको प्रचार गरेको बताएको छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन देखिएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए । उनले पक्राउ परेकाहरूलाई जुवा ऐन र राष्ट्र बैङ्क ऐन आकर्षित हुने बताए । 

प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले भने, ‘‘आज हामीले आठ जनालाई पक्राउ गरी सार्वजनिक गरेका छौँ । वान एक्सबेट विभिन्न माध्यमबाट, विभिन्न मिडियाबाट वान एक्सबेटलाई प्रमोसन गर्ने र त्यसको प्रोमो कोर्ड पनि राख्ने । पक्राउ गरेर हामीले अनुसन्धानको प्रक्रियामा नै लिएर गएका छौँ । पक्राउ परेका व्यक्तिले वान एक्सबेटलाई प्रमोसन गर्ने र प्रमोसन गरेबापत निश्चित कमिसन प्राप्त गरेको देखिएको छ । यसमा पपुलर टेलि सिरियल सञ्चालन गर्ने र धेरै सब्स्क्राइब युट्युबमा भएकाहरू छन् । हाम्रोमा यो गैरकानुनी हो । जुवा ऐन र राष्ट्र बैङ्क ऐन आकर्षित हुन्छ ।’’

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१) को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपियाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस