काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य जथाभाबी बढाउनेलाइ कारबाही गर्ने चेतावनी दिएको छ । विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
केही दिनदेखि बजारमा प्याजको मूल्य अत्यधिक वृद्धि भएको भनी गुनासो आइरहेको छ । बजारमा प्याजको मूल्यमा अस्वाभाविक उतार चढाव महसुस हुनासाथ विभागले सतर्कतापूर्वक बजारको आपूर्ति प्रणाली अध्ययन÷अनुगमन गरिरहेको जनाएको छ । आगामी आ.व. ०८०/०८१ को लागि पेस भएको बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा नियमित रूपमा आपूर्ति भइरहेको वस्तुको स्वाभाविक मूल्य भन्दा उच्च मूल्य कायम गरी बेचबिखन भइरहेको छ ।
यस्तो कार्य उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम दण्डनीय अपराध हो । उपभोक्ताको दैनिक आधारभूत आवश्यकताका वस्तुको आपूर्ति प्रणालीमा आबद्ध हुने पैठारीकर्ता, ढुवानीकर्ता, सञ्चयकर्ता तथा विक्रेता सबैले उपभोक्ता संरक्षण ऐन, २०७५ ले तोकिदिएको दायित्व वहन गर्दै पारदर्शी तवरबाट आ–आफ्नो व्यवसाय सञ्चालन गर्न कानुन बमोजिम बिल बिजक जारी गरी कारोबार गर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदै विभागले सूचना जारी गरेको छ ।
विभागबाट अनुगमनको क्रममा कानुनले तोकिदिएको दायित्व पुरा नगरेको पाइएमा उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कडा कारबाही गरिने विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस