
दाङ । लुम्बिनी प्रदेश सरकारले झन्डै साढे ४० अर्बको बजेट सार्वजनिक गरेको छ । दाङमा शुक्रबार बसेको प्रदेशसभाको बैठकमा त्यहाँका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारले जारी गरेको कुल बजेटमध्ये चालु खर्चतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात् ३३.८७ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फको खर्चका लागि २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात् ५७.४५ प्रतिशत विनियोजन गरिएको छ । स्थानीय तहमार्फत हुने वित्तीय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड ९७ लाख अर्थात् ८.८७ प्रतिशत खर्च छुटाइएको छ ।
यो सरकारलाई सङ्घीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपूरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुनेछ । त्यसैगरी आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य लुम्बिनी प्रदेश सरकारले लिएको छ ।
अनुमानित बजेट संरचनामा लुम्बिनी सरकारले सङ्घीय सरकारबाट राजश्व बाँडफाँटबाट मार्फत ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त हुने अनुमान गरेको छ भने रोयल्टीका रुपमा ३९ करोड प्राप्त हुने अनुमान छ । स्थानीय तहबाट राजश्व बाँडफाँटमार्फत २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान मन्त्री मास्कीले गरेका छन् ।
सङ्घीय सरकार जस्ता चालु आर्थिक वर्षमा खर्च गर्न नसकेको लुम्बिनी सरकारले चालु आवको मौज्दातका रुपमा ३ अर्ब अर्को आर्थिक वर्षको लागि प्राप्त हुने अनुमान गरेको छ भने आन्तरिक ऋणबाट १ अर्ब २५ करोड सङ्कलन गर्ने योजना रहेको मास्कीले बजेट मार्फत बताएका छन् ।
प्रतिक्रिया दिनुहोस