aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पठाइयो थुनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पठाइयो थुनामा

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्व मन्त्रीद्धय बालकृष्ण खाँण र टोप बहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने र दुई जनालाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जन र टंक कुमार गुरुङलाई पाँच र दश ला रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको हो । सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतका आरोपीहरू जेल चलान भएका छन् । 

यस मुद्दामा आरोपीका तर्फबाट कानुन व्यवसायीहरूले उठाएका कानुनी प्रश्नमाथि आज सरकारी वकिलले जवाफी बहस गरेका थिए । आरोपीहरूले ठूलो सङ्ख्यामा वकिल राख्दा बहस अत्यन्तै लामो बनेको थियो । 

उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेदेखि थुनछेक बहस सुरु भएको थियो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरूले बहस गरेका थिए ।   

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । उनीहरुविरुद्ध किर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । 

सार्वजनिक ओहदामा बसेका व्यक्तिको हकमा थप तीन वर्ष सजाय हुनसक्छ । उनीहरूलाई कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको छ । उक्त घटनामा अझै १२ जना फरार छन् । 

 

प्रतिक्रिया दिनुहोस