aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आगामी आवको लागि कुन प्रदेशले कत्रो ल्याए बजेट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
आगामी आवको लागि कुन प्रदेशले कत्रो ल्याए बजेट ?

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को लागि बजेट ल्याएका छन् । प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको लागि आज प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।    
कुन प्रदेशले कति ल्याए बजेट ?  

कोशी प्रदेश

कोशी प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न  ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । मुख्यमन्त्री हिम्मतकुमार कार्कीले आर्थिक वर्ष २०८०/८१ को आय–व्ययको सार्वजनिक गरेका गरेका हुन् ।    

आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री कार्कीले मन्त्रालयको सभा हलमा अध्यादेशबाट ल्याएका बजेट सार्वजनिक गर्दै आगामी आवको नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्न ३६ अर्ब २४ करोड ३५ लाख १० हजार विनियोजन भएको जनाएका छन् । कुल विनियोजनमध्ये चालु खर्च १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, पुँजीगत खर्च १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार रुपैयाँ, वित्तीय व्यवस्थातर्फ एक करोड रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ रहेको छ । चालु खर्चमध्येमा सङ्घीय अनुदान बचत फिर्तातर्फ दुई अर्ब रुपैयाँ रहेको छ ।

सार्वजनिक भएको बजेटमा आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट चार अर्ब ५७ करोड ७८ लाख ५० हजार, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लख र सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ७८ करोड ३८ लाख खर्च व्यहोर्ने भनिएको छ ।

यस्तै, सशर्त अनुदानबाट पाँच अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड र विशेष अनुदानबाट ७६ करोड गरी राजस्व तथा वित्तीय हस्तान्तरण गरी जम्मा ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार खर्च व्यहोर्ने जनाइएको छ । बाँकी अपुग रकम नगद मौज्दातबाट तीन अर्ब ७५ करोड एक लाख तथा वैदेशिक अनुदानबाट १५ करोड चार लाख ६० हजार व्यहोर्ने सार्वजनिक बजेटमा उल्लेख छ ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले शुक्रबार ६२ अर्ब ७२ करोड रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।  

यो बजेट चालु आर्थिक वर्षको भन्दा झन्डै ८ अर्ब कम हो । बजेटमा र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख बजेट विनियोजन गरिएको छ भने चालु खर्चमा २६ अर्ब ६४ करोड बजेट विनियोजन गरिएको छ ।  

गण्डकी प्रदेश

आगामी आर्थिक बर्ष २०८०/८१ को लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब रुपैयाँ भन्दा बढीको बेजल ल्याएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले आगामी आवको लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षमा खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ६२ करोड २५ लाख अनुमान गरिएको छ भने राजस्व बाँडफाँडबाट ९ अर्ब ५ करोडको अनुमान गरिएको छ । सशर्त अनुदानतर्फ ४ अर्ब ९४ करोड, रोयल्टी बाँडफाँडबाट ४० करोड, समपूरक अनुदानतर्फ ८४ करोड, विशेष अनुदानतर्फ ७० करोड प्राप्त हुने अनुमान छ ।  

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ४० अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट सार्वजनिक गरेका हुन् ।

सार्वजनिक बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार, पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार, स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख र आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य लिइएको छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट भाषण गरेको छ । आगामी आर्थिक वर्षका लागि कर्णाली सरकारले २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्री बेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन गरेका हुन् ।

यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र  पुँजीगततर्फ १९ अर्ब ९७ करोड ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ । बजेटमा स्थानीय तहको वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधार, यातायात र सहरी विकासका क्षेत्रमा १० अर्ब ११ करोड ४२ लाख बजेट विनियोजन गरेको छ । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री सिंहले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।

कर्णाली प्रदेश रङ्गशाला निर्माण सम्पन्न गर्न ८५ करोड रुपैयाँ, कर्णाली समिति परियोजनाको लागि १ अर्ब ५० करोड रुपैयाँ, महिला स्वास्थ्य स्वयंसेविकालाई वार्षिक १० हजार रकम प्रोत्साहन भत्ता, अस्पताल सुर्खेतको तला थप गर्न ५५ करोड ५६ लाख विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश

आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्ब  रुपैयाँ भन्दा बढीको बजेट ल्याएको छ । आगामी आवको लागि यस प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको हो ।    

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो । चालू आवको लागि आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले सार्वजनिक गरेका हुन् । उनले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पुँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।

मधेश प्रदेश 

मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ का लागि ४४ अर्ब ११ करोडको बजेट ल्याएको छ। अर्थ मन्त्री संजयकुमार यादवलेले शुक्रबार बसेको प्रदेशसभा बैठकमा अगामी आर्थिक वर्षका लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा चालू खर्च तर्फ १८ अर्ब २१ करोड ७६ लाख १४ हजार छुट्याइएको छ भने पुंजीगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार बिनियोजन गरिएको छ। सो रकम क्रमश ४१.३० प्रतिशत र ५८.२५ प्रतिशत हो । वितीय व्यवस्था तर्फ भने २० करोड अर्थात् ०.४५ प्रतिशत छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस