
काठमाडौं । झन्डै पाँच घण्टासम्म इजलासमा बस्दा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित नक्कली शरणार्थी प्रकरणमा समातिएका १८ अभियुक्तलाई छटपटी थियो। बहस सकिएपछि आदेश नआउन्जेलसम्म सबै अभियुक्त बेचैन देखिन्थे। दुई जनालाई मात्र धरौटीमा छोड्ने र बाँकी १६ लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश आएपछि उनीहरूको अनुहारको रंग नै उड्यो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले दुई साता लामो बहसपछि उक्त आदेश दिएको हो। अदालतले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने प्रकरणमा तानिएका लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा छोड्न आदेश दिएको छ।
झन्डै दुई महिना लामो अनुसन्धानपछि गजेन्द्र बुढाथोकीको जाहेरीले ३० जनाविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधको मुद्दा जिल्ला अदालतमा दायर गरिएको थियो। १० जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो। त्यसपछिको बहसका क्रममा इजलासमा उपस्थित हुँदा अभियुक्तहरू बिचलित देखिएका थिए। शुक्रबार अदालतले कारागार चलान गरेपछि खिन्न भएका थिए।
अदालतको आदेशपछि पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा चलान भएका छन्। योजनाकार केशव दुलाल र सानु भण्डारी, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, सागर राई, सन्देश शर्मा, टोपबहादुरका छोरा सन्दीप रायमाझी, खाँणका स्वकीय सचिव नरेन्द्र केसी, गोविन्द चौधरी, रामशरण केसी, पूर्वसभासद् आङटावा शेर्पा, हज कमिटीका अध्यक्ष शमशेर मिया र हरिभक्त महर्जन पनि थुनामा कारागार चलान भएका छन्।
एक्लिएका रायमाझी
कारागार चलान हुनुअघि इजलासमा बस्दा पूर्वउपप्रधानमन्त्री रायमाझी धैर्य थिएनन्। उनीले नजिकै रहेका तत्कालीन गृहसचिव पाण्डेसँग केहीबेर कुराकानी गरेका थिए। आफूसँग कुराकानी गर्नेहरूसँग आफ्नो राजनीतिक करिअर समाप्त भएकोमा चिन्ता व्यक्त गरेका थिए।
पुर्पक्षका लागि कारागार पठाउने आदेशसँगै रायमाझी सांसदबाट पनि निलम्बित भएका छन्। प्रतिनिधिसभा नियमावलीमा कुनै पनि सांसद फौजदारी अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएको अवस्थामा निलम्बनमा पर्ने कानुनी प्रावधान छ।
रायमाझीलाई सानु भण्डारीले एक करोड ६० लाख नगद दिएको बयान दिएका थिए। रायमाझीको छोरा सन्दीपलाई ४० लाख बैंकिङ प्रणालीबाट दिएको समेत भण्डारीले उल्लेख गरेका थिए। भण्डारीको घरबाट बरामत भएको डायरीमा पनि रायमाझीलाई विभिन्न मितिमा रकम दिएको उल्लेख छ।
टंककुमार गुरुङको रेस्टुरेन्टमा रायमाझी, उनका पिए लीला जीसी, केशवप्रसद दुलाल, सानु भण्डारी र भेषराज शर्मासमेत घन्टौं मिटिङ गर्ने गरेका थिए। बानेश्वरको एभरेस्ट होटलमा रायमाझीले टेन्सन नलिनु तपाईंहरूको काम पक्का हुन्छ भनेको र संसद् विघटनपछि सरकार परिवर्तन भएकाले अब हाम्रो सरकार आएपछि मात्र तपाईंहरूको काम हुन्छ भन्ने उल्लेख गरेको आदेशमा जनाइएको छ। सहप्रतिवादीहरू सानु भण्डारी, केशबप्रसाद दुलाल र टेकनाथ रिजालको बयानबाट समेत रायमाझीको कसुरमा संलग्नता देखिएको आदेशमा उल्लेख छ
प्रतिक्रिया दिनुहोस