aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

व्यापक विवादमा आएको आदिपुरुषको पुरा कथामा के छ ?

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, ०२ असार २०८०
व्यापक विवादमा आएको आदिपुरुषको पुरा कथामा के छ ?

काठमाडौं । हामी भगवान् रामको कथा जति पटक हेर्छौं र सुन्छौँ, त्यति नै पटक त्यो नयाँ लाग्छ । कुनै पनि धार्मिक प्रसङ्गमा रामको कथा उल्लेख हुनासाथ हामीमाझ निर्देशक रामानन्द सागरले निर्माण गरेको रामायणको दृश्य सजीव रूपमा आउँछ तर धेरै नयाँ पुस्ताले भने त्यो अवसर पाउन सकेका छैनन् । पौराणिक महाकाव्य रामकथासँग नयाँ पुस्तालाई परिचित गराउन निर्देशक ओम राउतल चलचित्र ‘आदिपुरुष’ पस्किएका छन् । 

चलचित्र ‘आदिपुरुष’ को शाब्दिक अर्थ प्रथम पुरुष हो । चलचित्रमा (राम) प्रभास, अभिनेतृ सीता (कृति सेनन) र लङ्केश (सैफ अली खान) प्रमुख भूमिकामा देखिएका छन् । चलचित्रका अन्य कलाकारमा सनी सिंह, देवदत्त नागे र वत्सल सेठ पनि मुख्य भूमिकामा छन्। चलचित्र हिन्दीका साथै नेपाली, तमिल, तेलुगु, कन्नड र मलायालम भाषामा पनि प्रदर्शन भएको छ । 

पाँच अर्ब भारुको बजेटमा निर्माण यो चलचित्र सबैभन्दा महँगो भारतीय चलचित्रमध्ये एक हो । चलचित्रमा अनौठा किसिमका भिएफएक्स र विशेष भिजुअल इफेक्टहरू छन् जुन अन्य चलचित्र कमै देखिन्थ्यो । चलचित्रभित्र प्रत्येक पात्रलाई धार्मिक भावना अनुरूप निकै सूक्ष्म रूपमा भूमिकामा ढालिएको छ ।

पौराणिक महाकाव्य रामायणमा आधारित चलचित्रले अयोध्याका राजा राघव (राम)को कथा भन्छ । कसरी लङ्केश (रावण) ले राघवको पत्नी सीतालाई अपहरण गर्छन् र राजा राघवले लङ्केशलाई मारेर सीतालाई फिर्ता ल्याउन के कसरी लडाइँ गर्छन् भन्ने कथालाई चलचित्रमा बेजोड ढङ्बाट चित्रण गरिएको छ । चलचित्रको मुख्य विशेषता भनेकै राम र रावणबिचको युद्ध नै हो । चलचित्रमा देखाइने यो लडाइँले दर्शकलाई उत्साहको उत्कर्षमा पुर्‍याउँछ ।

चलचित्रमा नायक प्रभासको शारीरिक सुगठन धेरै प्रभावशाली देखाइएको छ । उनको शारीरिक कद निकै राम्रो हुनुका साथै परिस्थिति अनुसार उनले आफ्नो अनुहारको हाउभाउमा धेरै परिवर्तन गरेका छन् । प्रभास साउथ इन्डियन अभिनेता भए पनि उनको हिन्दीमा संवाद गज्जबको लाग्छ । उनले हरेक संवादलाई निकै सरल र राम्रोसँग प्रस्तुत गरेका छन् । अर्कोतर्फ जानकीको भूमिकामा कृति सेनन सुन्दर र आकर्षक देखिएकी छिन् । उनको काम उत्कृष्ट छ । रावणको भूमिकामा सैफ अली खानलाई सुहाएको छ । उनले आफ्नो अनुहारमा क्रोध, अहंकार, बासना र आशक्तिका भावनालाई उत्कृष्ट रूपमा चित्रण गर्दै राम्रो अभिनय गरेका छन् । सैफले आफ्नो स्वरलाई भारी बनाउन सफल छन् । उनले बोलेको संवाद दर्शकले अवश्य नै रुचाउने छन् ।  

प्रतिक्रिया दिनुहोस