aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

बागमतीको बहाव बढ्दा काठमाडौंमा खानेपानी सहज हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
बागमतीको बहाव बढ्दा काठमाडौंमा खानेपानी सहज हुँदै

काठमाडौं । काठमाडौं उपत्यकाकामा ५–६ दिन बिराएर वितरण गरिन्थ्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकैएल)ले २-२ दिनमा पानी दिन थालेको छ। बागमतीमा पानीको बहाव बढेकाले पानीको आपूर्ति सहज बन्दै गएको केयूकेएलले जनाएको छ ।

महांकाल, महाराजगन्ज र बानेश्वरको मीनभवनस्थित ट्यांकीमा पानी जम्मा गर्ने गरिएको छ। खानेपानीमन्त्री बिना मगरको निर्देशनमा केयूकेएलले काठमाडौंका मुख्य ठाउँहरुमा पानीको वितरणलाई तीव्रता दिएको छ । वर्षातको समयमा बागमतीमा पानीको बहाव बढेकाले उक्त पानीलाई सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाएर प्रशोधन गरी वितरण गरिएको केयूकेएलका कम्पनी सचिव मिलन शाक्यले बताए ।

पुरानै वितरण लाइनबाट पानीको आपूर्ति भइरहेको कम्पनी सचिव शाक्यले बताए । चुहावट हुने सम्भावना भएकाले नजिकका केयूकेएल शाखामा खबर गर्न केयूकेएलले सबैलाई आग्रह गरेको छ । ‘यसपालिको वर्षातमा बागतीमा पानी बढेकाले उक्त पानीलाई प्रशोधन गरी वितरण गरिएको हो’, कम्पनी सचिव शाक्यले भने, ‘५–६ दिन बिराएर वितरण गर्दै आइरहेको पानी अहिले २ दिन बिराएर वितरण गर्न थालिएको छ । वर्षातका कारण काठमाडौंका मुख्य ठाउँहरुमा पानीको समस्या कम हुँदै जान थालेको छ ।’

महांकालचौरस्थित ट्यांकीमा दैनिक डेढ करोड लिटर पानी थपिँदै गएको छ । महांकालचौर शाखाको पानी चावहिल, कपन, मैजुबहाल, पशुपति, गौशाला, बत्तिसपुतली, पुरानो बानेश्वर, न्युरोड र कमलादीमा वितरण हुँदै आइरहेको छ । शाखा प्रमुख उमेश मरहट्टाले महांकालचौरबाट ९० हजार धारामा पानी वितरण हुँदै आएको जानकारी दिए ।

महाराजगन्जस्थित ट्यांकीमा दैनिक ४५ लाख लिटर पानी थपिएको शाखा प्रमुख रमेश के।सीले जानकारी दिए । महाराजगन्ज शाखाबाट चक्रपथ महाराजगन्ज, लाजिम्पाट, गैरीधारा, कपुरधारा, रानीबारी, सामाखुसी र असनमा पानी हुने गर्दछ । यस क्षेत्रका ८ हजार धारामा पानी वितरण गरिंदै आएको शाखा प्रमुख केसीले बताए ।

केयूकेएलका अनुसार नयाँ बानेश्वरको मीनभवनस्थित पानी ट्यांकीमा अहिले दैनिक २५ लाख लिटर पानी थपिएको छ । मीनभवन शाखाबाट नयाँ बानेश्वर, तीनकुने, शंखमुल बुद्धनगर, थापागाउँ र मध्य बानेश्वर क्षेत्रमा पानी वितरण हुँदै आइरहेको छ । यस क्षेत्रमा करिब १० हजार धारामा पानी आइरहेको शाखा प्रमुख नारायण कर्णले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस