
काठमाडौं । दशैंको अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौंका टिकट काउन्टरहरुमा यात्रुहरुको भीड लागेको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच यही २६ गते बसेको बैठकले आजबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको थियो ।
उपत्यकाबाट मात्रै विभिन्न जिल्लामा विशेष गरी दशैं मनाउन २० देखि २५ लाख यात्रु बाहिरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
काठमाडौंदेखि पूर्व–पश्चिमका सबै स्थानसम्म पुग्ने लामो दुरीका सवारी साधनको टिकट खुलेसंगै टिकट काट्ने यात्रुहरुको एका बिहान देखि नै घुइचोँ लागेको थियो ।
हरेक वर्ष दसैंको समयमा बसभाडा बढाएर मात्र अग्रिम टिकट बुकिङ खोल्ने व्यवसायीले यसवर्ष भने सरकारसँग भाडा नबढाई टिकट खोलेका कारण सर्वसाधारण यात्रुले सहजै टिकट काट्न पाएका हुन् ।
नयाँ बसपार्कमा यात्रुको सहजताका लागि स्थापना गरिएको यात्रु सहायता कक्षबाट पनि यात्रुले आवश्यक सोधपुछका लागि सहयोग पाइरहेको सहायता कक्षमा कार्यरत प्रहरी हवल्दार नमिता तामाङले बताइन् ।
पहिलो दिन भएकाले आइतबार दिउँसोसम्म नयाँ बसपार्कबाट १ हजार देखि १५ सय यात्रुले अग्रिम टिकट बुकिङ गरेको यातायात व्यवसायीहरुको आकलन छ । आजै ठ्याक्कै यति नै काटे भन्ने तथ्याकं हामी दिन नसक्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।
विभाग र महाशाखाको सहकार्यमा ललितपुर, भक्तपुर र काठमाडौंका १६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिहान ५ देखि बेलुका सात बजेसम्मको समयमा यात्रुले अग्रिम टिकट काट्न सक्ने महासंघले बताएको छ ।
आइतबार बिहानबाट खुलेको अग्रिम टिकट बुकिङ २० गते सोमबारसम्म जारी रहने छ । सरकारले तोकेको भाडादरमा टिकट काट्न सर्वसाधारण यात्रुलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ ।
यदि कुनै चालक वा बस व्यवसायिले ठगेको जस्तो लाग्छ भने जुनसुकै स्थानमा १०० मा कल गरेर बढी भाडा असुल्नेलगायत ट्राफिक नियम नमान्ने चालकलाई कारबाहीका लागि प्रहरीलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
डिलक्स, एसी र सुपर डिलक्सका नाममा व्यवसायीले यात्रुसँग बढी रकममा टिकट काट्ने प्रवृत्ति मौलाएपछि महाशाखाले यात्रुलाई सचेत गराएको हो । यातायात व्यवस्था विभागले सुविधासम्पन्न बसले १० देखि २० प्रतिशतसम्म बढी भाडा लिनसक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस