काठमाडौं । अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले सरकारले अप्रिय तर बोल्ड निर्णय गर्दै बजेट ल्याउने अपेक्षा गरिएकोमा सो नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथि टिप्पणी गर्दै उनले ठोस निर्णय गर्ने अनुकूलता हुँदाहुँदै पनि सरकारले त्यसो गर्न नसकेकोका आपत्ति जनाएका हुन् ।
उनले भने, ‘जनताबाट नयाँ म्यान्डडेड लिएर आएको सरकारले सुरुमा अप्रिय तर बोल्ड निर्णय गर्ला भन्ने अपेक्षा थियो । तर, त्यो हुन सकेन ।’ उनले बजेटको आकार र खर्च गर्ने क्षमताको बिचमा तादम्यता नमिलेको समेत टिप्पणी गरे ।
वाग्लेले निजी क्षेत्रमा प्रवाह भइरहेको कर्जा जिडिपीको शतप्रतिशत पुगेको बताउँदै त्यसबाट अपेक्षाकृत आर्थिक वृद्धिदर हुन नसकेको बताए । उनले विगत लामो समयदेखि दुईदेखि पाँच प्रतिशतको आर्थिक वृद्धिमा मुलुक अड्किएको तर चमत्कार गर्न वा फड्को मार्न सातदेखि १० प्रतिशतको आर्थिक वृद्धि पनि आवश्यक रहेको बताए ।
यसरी सार्वजनिक र निजी दुवै पुँजी खन्याउँदा समेत किन आर्थिक वृद्धि हुन सकिरहेको छैन भन्ने विषयमा गहन अध्ययन र अनुसन्धानको आवश्यकता रहेको उनले बताए । तर, अर्थमन्त्री डा. प्रकाश शरण महतले सो अवसर गुमाएको समेत उनले गुनासो गरे ।
वाग्लेले सरकारले अनुमान गरेको राजस्व संकलन हुने कुरामा तथ्यांकहरु पेश गर्दै आशंका व्यक्त गरे । राजस्व संकलनको अनुमान हचुवाको भरमा टिप्पणी गर्दै उनले भने, ‘सबै शीर्षकमा २४.७ प्रतिशतकै वृद्धि हुने कस्तो प्रक्षेपण हो ? यस्तो हावादारी प्रक्षेपण पनि कहीँ बजेटमा हुन्छ ।’
अर्थमन्त्री र उनका सल्लाहकारहरूलाई कटाक्ष गर्दै उनले भने, ‘अर्थमन्त्रीजी विज्ञ हुनुहुन्छ । पिएचडीधारी एक हुल सल्लाहकार पनि उहाँसँग छन् । ६/७ जना काबिल सचिव र सहसचिवले पनि काम गरेका छन् । करका आधारभूत कुराहरूमा समेत उहाँहरू अनविज्ञ हुनुहुन्छ भन्ने थाहा पाउँदा अचम्म लाग्यो ।’
बजेटमा जे लेख्दिए पनि हुन्छ भन्ने ठानेर गरिएको कामप्रति आफ्नो पार्टी गम्भीर बनेको समेत उनले बताए । वाग्लेले अर्थमन्त्रीको क्षमतामाथि प्रश्न उठाउँदै भने, ‘यो नालायकीपन त नभनौँ, हेलचेक्र्याइँ हो वा दुष्सपना हो । यसतर्फ माननीय अर्थमन्त्रीज्यूको ध्यान जाओस् ।’
प्रतिक्रिया दिनुहोस