
रामेछाप । निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएका छन् । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान चोरेर सुँगुरको खोर बनाएका हुन् । वडाको शिवलेङगेश्वर मा।वि ताम्चेतको विद्यालय परिसरमा राखेको जस्तापाता, फलाम, काठ–पात लगायतका सामाग्री वडा सदस्य मगरले राति गाडीमा लोड गरी लगेको स्थानीयले बताए ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य मगरले लाखौँ मूल्य पर्ने विद्यालयको सामान लगेको स्थानीयको भनाई छ । एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री राता–रात उठाएको सोही विद्यालयको व्यवस्थापन समितिका एक पदाधिकारीले नाम नभन्ने सर्तमा बताए ।
उनले भने ‘राती विद्यालय परिसरमै गाडी लगेर सबै उठाउनु भएछ । उहाँ शिवलेङगेश्वर मा।वि ताम्चेतको विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य समेत हुनुहुन्छ । अहिले उहाँले उक्त सामान उठाएको खुलासा भएपछि भने गाउँलेलाई पद र पावरको धम्की दिन थाल्नु भएको छ । उनले भने– ’अहिले मसँग पद छ, पावर छ तिमीहरूले के गर्न सक्छौँ भन्ने धम्की वडा सदस्यज्यूले दिन लाग्नु भएको छ । उहाँको धम्कीले विद्यालयले समेत केही कारबाही प्रक्रिया अगाडि नबढाई लाखौँको सामान रातारात चोरी हुँदा र चोरी गर्ने व्यक्ति थाहा हुँदा समेत चुपचाप बस्नु परेको छ ।
चोरी भएको सामानले वडा सदस्य मगरले ३०÷४० वटा सुँगुर अट्ने फार्म बनाएका छन् । वडा र पालिकाबाट कृषि तथा पशुपालन अनुदान कुम्ल्याउनले उद्देश्यले मगरले विद्यालयका सामान उठाएर रातारात फर्म तयार पारेका हुन् । उनले सबै विद्यालयको सामाग्रीले फार्म तयार पारेको ती स्थानीयहरूको आरोप छ ।
रातारात गायब पारिएको सामान कहाँ छरु प्रहरीमा रिपोर्ट गर्नु भयो भनी सोध्दा प्रधानाध्यापक चतुर्मान तामाङले फोन काटे । बारबार फोन गर्दा समेत प्रधानाध्यापक तामाङले फोन उठाएनन् । उनी ३ महिना अगाडि मात्रै प्रधानाध्यापकमा नियुक्त भएका हुन् ।
प्रतिक्रिया दिनुहोस