aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

माया मारिसकेको छोरो २४ वर्षपछि घर फर्केर आउँदा...

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • मंगलबार, ०५ असार २०८०
माया मारिसकेको छोरो २४ वर्षपछि घर फर्केर आउँदा...

गलकोट । बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आश मारिसकेकी थिइन् । तर छोरा घर फर्केपछि उनले हर्षका आँसु झारिन् । 

“मैले त कान्छो छोराको आश मारिसकेको थिए, विदेश गएको केही वर्ष त सम्पर्कमा थियो, त्यसपछि अत्तोपत्तो भएन”, आमा रेग्मीले भावविह्वल हुँदै भनिन्, “छोरा २४ वर्षपछि घर फर्कँदा बुढेसकालको सहारा हुने भएको छ ।”

विसं २०५६ माघमा घर छोडेर गएका चन्द्रदत्त रेग्मी घर फर्किएका छन् । रोजगारीका लागि बेलायत गएका रेग्मीलाई अलपत्र अवस्थामा काठमाडौँबाट उद्धार गरी ल्याइएको हो । 

बेलायत गएको तीन वर्षपछि परिवारको सम्पर्कमा आभएका चन्द्रदत्त २४ वर्षपछि घरमा आउँदा परिवारमा खुसियाली छाएको छ । 

बागलुङ नगरपालिका–१३ पैयुँपाटा जलजलाका ४९ वर्षीय चन्द्रदत्त बेलायतमा धनसम्पत्ति जोडेर नेपाल आउन चाहे पनि बेलायतमा स्थायी बसोबासका लागि अनुमति (पिआर) नपाएपछि उनी परिवारको सम्पर्कमा नआएका हुन् । 

चन्द्रदत्त घर फर्किएसँगै ८७ वर्षीया आमा चिरिञ्जीवी रेग्मीको खुसीको सीमा रहेन । घरको कान्छो छोरा बुढेसकालको सहारा सम्पर्कमा आउँदा चिरिञ्जीवीको आँखामा हर्षका आँसु बर्सिएका छन् । 

बेलायमा पिआर नबनेपछि २०६८ सालमा नेपाल फर्किएका चन्द्रदत्त घर नफर्केर पुनः कामका लागि विभिन्न जिल्लामा भौँतारिएका थिए ।

प्रतिक्रिया दिनुहोस