aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

समाजवादी मोर्चाका सुत्रधार रहेका भट्टराईले नै गरे कडा विरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असार २०८०
समाजवादी मोर्चाका सुत्रधार रहेका भट्टराईले नै गरे कडा विरोध

काठमाडौं । नेपाललाई समाजवादको दिशामा लैजान वृहत मोर्चा बनाउनु पर्छ भन्ने अवधारणाका सुत्रधार रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सोमबार घोषित मोर्चाको विरोध गरेका छन् । मोर्चाको घोषणासभामा समेत उपस्थित नभएका डा. भट्टराईले सामाजिक सञ्जाल मार्फत आक्रोश पोखेका हुन् । 

पूर्वप्रधानमन्त्री समेत रहेका उनले ‘कथित समाजवादी मोर्चा’ भन्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले समाजवादी मोर्चाको नियतप्रति नै प्रश्न उठाउँदै यसलाई सत्ता स्वार्थको हतियार नबनाउन कडा शब्दमा चेतावनी दिएका छन् । 

उनले भनेका छन् – ‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन । यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो ।’

डा. भट्टराईले अगाडि भनेका छन् – ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस् । केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

सोमबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलेर मोर्चाको घोषणा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस