aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे गृहमन्त्री थापा र चिनियाँ राजदूत यान्छीबीच छलफल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे गृहमन्त्री थापा र चिनियाँ राजदूत यान्छीबीच छलफल

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका लागि तयारी तीव्र पारिएको छ ।

आज दिउँसो गृहमन्त्री रामबहादुर थापा र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच राष्ट्रपति सीको आसन्न भ्रमणलाई लिएर भेटवार्ता भएको छ । भेटमा राष्ट्रपति सीको भ्रमणको सुरक्षा व्यवस्थाबारे छलफल भएको बताइएको छ ।

गृहमन्त्री थापासँग राजदूत यान्छीले आफ्ना राष्ट्रपतिको असोज अन्तिम साता हुने भनिएको भ्रमणका क्रममा सुरक्षा तयारीबारे जानकारी लिनुभएको गृहमन्त्रालयले जनाएको छ । यस्तै भ्रमणका लागि हुने आवश्यकताहरुबारे पनि छलफल भएको बताइएको छ ।

गृहमन्त्री थापा र राजदूत यान्छीबीचको भेटवार्तापछि सुरक्षा व्यवस्थाका लागि भन्दै चारवटै सुरक्षा निकायका उच्च अधिकारीबीच गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ ।

बैठकमा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी तथा सेनाका उच्च अधिकारी सहभागी रहेको बताइएको छ । बैठकले राष्ट्रपति सीको भ्रमणका दौरानमा अपनाइने विशेष सुरक्षा रणनीति तय गर्ने पनि बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपालको औपचारिक भ्रमणमा आउने तय भएपनि सरकारले मिति भने सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस