aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कार्यकारी निर्देशक नहुँदा अस्पतालको कामकाज प्रभावित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असार २०८०
कार्यकारी निर्देशक नहुँदा अस्पतालको कामकाज प्रभावित

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दुई महिनायता कार्यकारी निर्देशक नहुँदा दैनिक कामकाज प्रभावित भएको छ । अस्पतालमा बिरामीलाई अत्यावश्यक अक्सिजनदेखि अन्य औषधिजन्य सामग्री खरिद प्रभावित बनेको हो । 

बिल भुक्तानी हुन नसक्दा अत्यावश्यक सामग्री आउन छाडेपछि नियमित काममासमेत अवरोध पुगेको छ । अस्पतालका सूचना अधिकारी गृहनारायण महतोका अनुसार दुई महिनादेखि अस्पतालका चिकित्सक  तथा अन्य कर्मचारीले तलब पाएका छैनन् ।

उनले भने, “अक्सिजन ग्याससमेत झिकाउन गाह्रो भइसक्यो । कतिपय औषधि अभाव हुन थालेको छ ।” यसको प्रभाव दीर्घकालीन रुपमा हुने भन्दै महतोले तत्काल कार्यकारी निर्देशक नियुक्त नभएमा दैनिक कामकाज प्रभावित हुने बताए ।

यसवर्ष खरिद गरिएका सामग्रीको भुक्तानी असार महिनामा सक्नुपर्ने हुन्छ । त्यसका लागि आवश्यकपर्ने गृहकार्य समेतका लागि समय छोटो भइसकेको उनी बताउँछन् । अस्पताल मियो बिनाको दाइँ जस्तो हुन थालेको महतोले गुनासो गर्नुभयो । नेतृत्व नभएपछि नियमित काममा खट्नपटनसमेत प्रभावित बनेको छ ।

डा देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते सकिएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको हो । अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ । अस्पतालमा अध्यक्ष रहे पनि कार्यकारी जिम्मेवारी नहुने हुनाले दैनिकी सहज बनाउन कठिन हुने गरेको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजयराज न्यौपाने कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएको बताउँछन् । उनले औषधिलगायत अस्पतालमा आवश्यक अन्य सामान खरिदसमेत प्रभावित बनेको बताए । उनले भने, “नयाँ काम गर्न र दैनिक कार्य सञ्चालनमै समस्या छ ।” सञ्चालक समितिले पूर्णता पाउन नसक्दा बैठक नै बस्न नसकेको उनको भनाइ छ । डा न्यौपानेले भने,  “म नियुक्ति भएर आएको दुई महिनाभन्दा बढी भयो, म आएपछि एउटा पनि बैठक बस्न सकेको छैन ।”

डा न्यौपानेका अनुसार गत फागुनदेखि सञ्चालक समिति पूर्ण छैन । सञ्चालक समितिको गणपूरक सङ्ख्यासमेत नपुग्ने भएकाले बैठक बस्न सकेको छैन । चौध सदस्यीय रहने सञ्चालक समितिमा ६ जना स्वास्थ्यमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने व्यवस्था छ । उक्त ६ जनाको पद अहिले रिक्त छ । 

भरतपुर महानगरपालिकाको प्रमुख, स्वास्थ्य मन्त्रालयको सचिव वा सचिवले तोकेको व्यक्ति, अर्थ सचिव वा अर्थसचिवले तोकेको व्यक्ति, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को प्रतिनिधि पदेन सदस्य रहने ऐनमा व्यवस्था छ । यस्तै समितिले दुई जना नियुक्त गर्ने व्यवस्था रहेको छ । सरकारले नियुक्त गर्ने ६ जना र समितिले नियुक्त गर्ने दुई सदस्य पद रिक्त छ । छ जनामध्ये दुई जना सामाजिक क्षेत्रका व्यक्ति हुन्छन् भने चारजना क्यान्सर विशेषज्ञ हुनुपर्दछ ।

सञ्चालक समितिले सिफारिस समिति गठन गरी उक्त समितिले सिफारिस गरेका व्यक्तिमध्येबाट स्वास्थ्य मन्त्रीले कार्यकारी निर्देशक नियुक्त हुने व्यवस्था छ । समितिले नै पूर्णता पाउन नसकेपछि कार्यकारी निर्देशक पदसमेत रिक्त रहेको हो । अस्पतालका अधिकांश प्रशासनिक कार्य गर्न कार्यकारी निर्देशक आवश्यक पर्दछ ।

नियमावली अनुसार कार्यकारी निर्देशकले समितिबाट स्वीकृत नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्ने/गराउने, अध्यक्षको समन्वयमा अस्पतालको वार्षिक योजना सहितको आयव्यय अनुमान समितिमा पेस गर्ने, अध्यक्षको अनुमति लिई समितिको बैठक बोलाउने, समितिको बैठक समक्ष पेस गर्ने प्रस्ताव तथा छलफलका विषयसूची र कार्यविधि तयार गर्ने, अस्पतालको प्रशासकीय प्रमुख भई काम गर्ने रहेका छन् ।

यस्तै अस्पतालका कर्मचारीको कार्य विवरण तयार गरी कार्यान्वयन गर्ने/गराउने, अस्पतालका कर्मचारी र समितिबीच समन्वयात्मक भूमिका निर्वाह गर्ने, समितिले गरेका निर्णयको कार्यान्वयन गर्ने/गराउने, मन्त्रालय, समिति र अध्यक्षले दिएको निर्देशनको पालना गर्ने/गराउने, अस्पताललाई हित हुनेगरी अन्य सङ्घ संस्थासँग राष्ट्रिय रुपमा आफै र अन्तरराष्ट्रिय रुपमा अध्यक्षसँग परामर्श गरी सम्झौता गर्ने र समितिलाई जानकारी गराउने काम कार्यकारी निर्देशकको छ ।

अस्पतालको महत्वपूर्ण जिम्मेवारी रहने कार्यकारी पद रिक्त हुँदा त्यसको असर कर्मचारी र बिरामीसम्म परेको छ । देशैभरी र भारतबाटसमेत बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस