काठमाडौं । मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयको प्रस्तावमा धुर्मुस–सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ । फाउन्डेसनले गिरानचौर एकीकृत नमूना बस्ती पुनःनिर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा तिर्नुपर्ने देखिएको करलाई सरकारले छुट दिने भएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् । मन्त्रि शर्माले नेपाल–चीन सिमानाको तातोपानी झङ्मोस्थित सीमा चिह्न स्तम्भ नं ५३१ लाई यथास्थानमा पुनःस्थापनाका लागि संयुक्तरुपमा काम गर्नेनेपाली टोली गठन गर्ने निर्णय पनि भएको जानकारी दिईन् ।
सो कार्यक्रममा बाढीले पुर्याएको क्षति र त्यसबारे सरकारले गरेका कामबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता शर्माले भनिन्, “बाढी पहिरोका कारण अत्यन्त दुःखद् घटना भएको छ । धेरै मानिस विस्तापित हुने अवस्था आयो, मानवीय र धनजनको क्षति हुने अवस्था बन्यो । उनीहरुलाई परेको समस्याबारे बुझ्न प्रधानमन्त्री पनि घटनास्थल पुग्नुभएको छ। सरकार उद्धार, राहत, पुनःस्थापनामा लागिरहेको छ ।”
राहत पुनःस्थापनाभन्दा पनि उद्धारलाई प्रभावकारी बनाउने मुख्य विषय भएको र त्यसको निम्ति प्रधानमन्त्रीले घटनास्थलमै पुगेर निर्देशन दिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस