
काठमाडौं । आफैँले बनाएको नियमावलीको व्यवस्था उल्लंघन गर्दै प्रतिनिधिसभाका सदस्यहरू संसद्मा अनुपस्थित हुने गरेका छन् । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभाको पहिलो अधिवेशनमा दुई सय पाँच सांसद विभिन्न बैठकमा सूचना नै नदिई अनुपस्थित भएका छन् ।
प्रतिनिधिसभा नियमावलीले एक दिन पनि अनुपस्थित रहँदा पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । पूर्वसूचना दिन नसके उपस्थित भएको तीन दिनभित्र कारण खुलाएर सभामुखलाई जानकारी दिनुपर्छ । पूर्वसूचना त परको कुरा, तीन दिनभित्र जानकारी नदिने सांसदहरूको संख्या पनि ठूलो छ । यसपटक नयाँ दल र अनुहार चुनिएर आएकाले संसद्भित्र ऐन–नियम पालना हुने र सार्थक बहसको थलोमा जनप्रतिनिधि जवाफदेही बन्ने अपेक्षा थियो । तर, अनुपस्थितिका मामिलामा विगतकै प्रवृत्तिको दोहोरिएको छ ।
२५ पुसदेखि १५ वैशाखसम्म चलेको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा हाजिर गरेर टाप कस्ने र कोरम नपुगेर बैठक स्थगित हुने समस्या पटक–पटक देखिएको थियो । धेरै सांसदले सूचना नदिई बैठकमा अनुपस्थित भएर नियमावली उल्लंघन गरेको हाजिरी विवरणले देखाउँछ । पुसमा दुई, माघमा आठ, फागुनमा चार, चैतमा नौ र वैशाखमा ६ गरी पहिलो अधिवेशनमा २९ बैठक चलेका थिए ।
प्रतिनिधिसभाको पहिलो अधिवेशनमा १२ सांसद मात्रै सबै बैठकमा उपस्थित भए । सांसदको हाजिरी रेकर्डअनुसार दिलेन्द्र बडू, देवराज घिमिरे, नागिना यादव, रघुजी पन्त, रामहरि खतिवडा, रुक्मणि राना बराइली, विना लामा, विनिताकुमारी सिंह, शान्ति श्रेष्ठ, संगीता मण्डल धानुक, हितराज पाण्डे र ज्ञानु बस्नेत सुवेदी सबै बैठकमा उपस्थित छन् ।
११ सांसद सूचना दिएर अनुपस्थित भएका छन् । उपचारको क्रममा रहेकाले मनोरमा शेरचन २९ दिन, वर्षमान पुन र विनाकुमारी थनैत २६ दिन तथा चन्द्र भण्डारी १८ बैठकमा अनुपस्थित रहे । सिके राउत, एकनाथ ढकाल, गोमा लाभ, शहनाज रहमान ९दिवंगत०, हरि ढकाल र इन्दिरा राना ९उपसभामुख० तथा पुष्पकमल दाहाल ९प्रधानमन्त्री० सूचना दिएर केही दिन अनुपस्थित रहेको संसदको रेकर्ड छ ।
संसद् सचिवालयको रेकर्डअनुसार दुई सय पाँच सांसद सूचना नदिईकनै विभिन्न बैठकमा अनुपस्थित रहेका छन् । ४६ सांसदले धेरै दिन अनुपस्थित रहेर थोरै दिनको सूचना दिएका छन् । त्यसमध्ये एमालेका लक्ष्मी महतो कोइरी एउटा बैठकमा मात्रै उपस्थित भएर फरार छन् । हाल निलम्बनमा रहेको उनले २५ माघदेखि लागू हुने गरी २१ बैठकको इमेलमार्फत अनुपस्थितिको सूचना दिएका छन् । त्यसअघिका सातवटा बैठकको उनले सूचना नै दिएनन् । कांग्रेसका टेकबहादुर गुरुङ भने सुरुदेखि नै निलम्बनमा छन् । आजको नयाँपत्रिकाबाट
प्रतिक्रिया दिनुहोस