लुम्बिनी । अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी ? मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उनले भने, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल विरानो बन्न थाल्यो ।”
सम्मरीमाई–७ बेतकुइयाँका मनमोहन कुर्मी दुई वर्षअघि सम्म एक बिघा खेतमा कालानमक धान रोप्नुहुन्थ्यो । राम्रो पैदावार हुने उन्नत जातका अन्य बीउ भित्रिएसँगै ढिलो पाक्ने कालानमकमा रोगकीरोको प्रकोप बढी देखा पर्न थालेपछि त्यसलाई विस्थापित गर्दै उनले अन्य जातका हाइब्रिड धान रोप्न थाले ।
“दुःख पनि धेरै, उत्पादन पनि कम हुने, त्यसमाथि रोगको प्रकोप पनि देखिन थाल्यो”, अगुवा कृषक अशोक त्रिपाठीले भने, “सभ्यतासँग जोडिएको कालानमक, कनकजिरा, बासमती र गौरिया लगायतका रैथानेबाली जोगाउनै गाह्रो भयो, त्यसैले छोटो समयमा पाक्ने र धेरै उब्जनी दिने उन्नत जातका धान लगाइरहेका छौँ ।” कालानमक चामल मानव स्वास्थ्यका लागि उत्तम आहार मानिन्छ । यसलाई भगवान् बुद्धको भोजनका रुपमा प्रयोग भएको मान्यता रहेको उनले बताए ।
पछिल्लो समयमा लगानीअनुसारको प्रतिफल नपाएपछि किसानले कालानमक रोप्न छाड्दै गर्दा यसको बीउसमेत लोप हुने अवस्थामा पुगेको छ । बौद्धकालीन संस्कृतिसँग जोडिएको कालानमक लोप हुन लागेको भन्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वप्रमुख मनमोहन चौधरीले चिन्ता व्यक्त गरे । “हाइब्रिड चामलले पेट त भरिन्छ , तर स्वाद हुँदैन,” उनले भने, “खेतहरू हाइब्रिड धानले भरिन थाले, कालानमक खान पनि चाँडपर्व कुर्नुपर्ने भयो ।”
यसको उत्पादकत्व कम तर बजारमूल्य बढी छ । अन्य धान प्रतिहेक्टर चार मेट्रिक टन उत्पादन हुँदा कालानमक २.१ मेट्रिक टन मात्रै हुन्छ । तर चामल बिक्रीमा भने किसानलाई बराबरीको लाभ छ । अन्य चामलको भन्दा यो तीन गुणा बढी मूल्यमा बिक्री हुन्छ । अहिले यसको बजार मूल्य प्रतिकेजी एक सय ६० देखि एक सय ८० रुपैयाँसम्म पर्दछ ।
“कपिलवस्तु राज्यमा कालानमक धानको प्रशस्त खेती हुने गरेको थियो, जुन जलमार्गबाट भारतका अन्य राज्यसम्म पुग्ने गरेको थियो”, कालानमक संरक्षणकर्ता तथा बुद्धधर्मका स्थानीय शोधकर्ता भोला गुप्ताले भने, “संस्कृतमा ओदन भनेको भात हो, शुद्ध ओदन (शुद्ध भात) उत्पादन गर्ने भएकाले राजाको नाम शुद्धोदन भएको हो ।”
पछिल्लो समयमा कालानमक चामलको ‘प्याकेजिङ’ र ‘ब्रान्डिङ’ गरिरहेको लुम्बिनी एग्रो टुरिजम एन्ड रिसर्च सेन्टरले मात्र एक हेक्टरमा कालानमक खेती गरेको संस्थाका अध्यक्ष पूर्णिमादेवी पाठकले बताईन् । उनका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकामा मात्र कूल १० हेक्टर बढी क्षेत्रफलमा कालानमक धान लगाउने गरिएको छ ।
जिल्लाभरि करिब ५० हेक्टरमा कालानमक धान खेती सुरु भएको उनले बताईन् । “लगानीअनुसार यसले सङ्ख्यात्मक प्रतिफल दिन नसक्दा किसानले खेती गर्न छाड्न थालेका छन्,” उनले भनिन्, “कालानमक धानको दाना बन्ने बेलामा कीरो बढी लाग्ने र चुसेर नष्ट पार्ने हुँदा किसानहरु यसको खेतीबाट विमुख हुन थालेका छन् ।”
खाँदा नरम, स्वादिलो र मगमग बास्ना दिने कालानमक मानव स्वास्थ्यका लागि असाध्यै पोषिलो मानिन्छ । यो चामलको स्वाद लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई चखाउन सके यसको संरक्षणसँगै किसानले आर्थिक लाभ लिन सक्ने पाठकको भनाइ छ । पाँच वर्षदेखि लुम्बिनीको रैथाने कालानमक चामलको प्रचार–प्रसार, संरक्षण र बजारीकरण गर्दै आएका पाठकले भनिन्, “कालानमक चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ ।”
प्रतिक्रिया दिनुहोस