aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

करिब ४० करोड बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ असार २०८०
करिब ४० करोड बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण

काठमाडौं । करिब ४० करोड १४ लाख बराबरका खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानी उप–आयोजना–२ अन्तर्गतको वितरण सञ्जाल सुधार कार्यका चारवटा प्याकेज अन्तर्गत उक्त स्वामित्व हस्तान्तरण गरिएको हो । 

यस अन्तर्गत बिच्छ्याइएका एक हजार १० किमि पाइपलाइनमध्ये करिब ४० करोड १४ लाख बराबरका ७१.७२ किमि खानेपानी वितरण प्रणालीको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई आज हस्तान्तरण गरेको छ । जसअनुसार महाङ्काल पानीपोखरीबाट मेलम्चीको खानेपानी वितरणका लागि प्याकेज नं. १ अन्तर्गत गौशाला क्षेत्रमा बिच्छ्याइएको २१.५७ किमि तथा प्याकेज नं. २ अन्तर्गत तिलगङ्गा र सिनामङ्गलमा बिच्छ्याइएको १७.०४ किमि खानेपानी वितरण प्रणाली हस्तान्तरण गरिएको छ । 

त्यस्तै, खुमलटार पानीपोखरीबाट खानेपानी वितरणका लागि प्याकेज नं. ३ अन्तर्गत नरेफाँट र जडिबूटीमा बिच्छ्याइएको २२.६६ किमि र प्याकेज नं. ४ अन्तर्गत कीर्तिपुर पानीपोखरीबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय लगायतका क्षेत्रमा बिच्छ्याइएको १०.४५ किमि खानेपानी वितरण प्रणालीको स्वामित्व हस्तान्तरण गरिएको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटा, बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा र केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्यले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव राम आधार साहले काठमाडौंमा दशकौं पुराना खानेपानी वितरण प्रणालीलाई क्रमिकरूपमा विस्थापित गर्दै आधुनिक नयाँ प्रणालीबाट स्वच्छ खानेपानी वितरण शुरु भएको बताए ।   
 

प्रतिक्रिया दिनुहोस