काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको आदेशलाई ठाडो चुनौती दिएका छन् । उनले नेपाल सरकार र अदालत दुवै भारतको गुलाम भएको बताउँदै अदालतको आदेश अवज्ञा गर्ने बताएका हुन् ।
बिहीबार उच्च अदालत पाटनले काठमाडौँमा हिन्दी सिनेमा चल्न नदिने बालेनको यसअघिको निर्णयविरूद्ध अन्तरिम आदेश जारी गरेपछि उनले अदालत र कानुन नमान्ने कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन्।
मेयर बालेनले देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आए कानुन र अदालतलाई नमान्ने भन्दै टिप्पणी गरेका छन् ।
बिहीबार अदालतको आदेश आए लगत्तै त्यस विरुद्ध कडा प्रतिवादमा उत्रिएका हुन् । उनले लेखेका छन् - ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्ने वाला छैन। फिल्म लेखकले नेपाल भारत को अधीनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ ।’
उनले अगाडी थपेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’
स्मरण रहोस्, बालेन विरुद्ध लगातार अदालतका आदेशहरू आइरहेका छन् । उनले अघिल्लो साता एजुकेसन एक्स्पोले प्रक्रिया नपुर्याएको भन्दै रोकेका थिए । तर, १५ करोडको बिगो दाबी सहित अदालत पुगेका आयोजकहरूलाई पुन एक्स्पो संचालन गर्न र महानगरलाई अवरोध नगर्न अदालतले आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस