पछिल्लो समय देश बालेनमय बनेको छ । संसद्मा भइरहेको बजेट माथि 'विद्वान अर्थविद् सांसद'हरूले बोलेका गहकिला वाक्यमाथि कुनै विमर्श छैन । न त अन्य समसामयिक विषयले महत्त्व पाएका छन् । छ त केवल उनै काठमाडौँका मेयर बालेन्द्र शाह( बालेन)को चर्चा छ; यत्र, तत्र, सर्वत्र ।
विषयमा प्रवेश गर्नु पुर्व हालैका केही घटनाक्रम र मेयर बालेनका प्रतिक्रियात्मक निर्णयहरूको माथि दृष्टि लगाऊँ । भारतले आफ्नो नयाँ संसद्मा राखेको उसकै शब्दमा 'सांस्कृतिक' भनिएको नक्सामा "लुम्बिनी" शब्द घुसेपछि बालेनले आफ्नो कार्यालयमा सुगौली सन्धि अगाडिको नेपालको नक्सा टाँसे। त्यस लगत्तै "सिता भारतमा जन्मेको" भन्ने वाक्यांश रहेको भन्दै हिन्दी चलचित्र "आदिपुरुष" का निर्मातालाई उक्त सिन हटाउन अन्यथा काठमाडौँमा प्रदर्शन गर्न नदिने अल्टिमेटम दिए ।
तर, उक्त चलचित्रमा सो सिन (संवाद) नै नभएको कारण त्यसलाई हटाउने कुरा भएन । उनीहरूले बालेनको अल्टिमेटम अनुसारको काम गर्न सकेनन् । बरु यसबिचमा उक्त चलचित्रका लेखकले नेपालको इतिहासको बारेमा भ्रामक कुरा गरे । उनको गलत ब्यहोराको टिप्पणीले बालेनको झुटो आरोप ओझेलमा पर्यो । भलै केही सञ्चार माध्यमहरूले 'चोर पक्राउ' गरे पनि त्यो आम रुपमा 'भ्यालिड' बन्न सकेन । लगत्तै मेयर बालेनले कुनै पनि हिन्दी चलचित्र चल्न नदिने थप घोषणा गरे ।
अदालतको हिन्दी चलचित्र चल्न दिनु भन्ने आदेशलाई 'सरकार र अदालत नै भारतको गुलाम भएको' प्रमाणको रुपमा प्रस्तुत गर्दै उनले "देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन या अदालतलाई मान्नेवाला छैन" भन्ने अभिव्यक्ति दिए ।
यो त भयो बालेनले "देशको सार्वभौमिकता र स्वाधीनता" रक्षाका लागि गरेका पछिल्ला प्रयासहरूको शृङ्खला । अब चिहाउँ अर्को पाटोतर्फ।
कालीमाटीमा किसान र व्यापारीले हजारौँ किलो नेपाली गोलभेँडा सडकमा फाले। त्यो समाचार बन्यो । आम नेपालीले त्यसमा चासो राखे । सरकारले किसानको दुख बुझेन भनेर चित्त दुखाए । देशको विभिन्न ठाउँमा किसानहरूले तरकारीको मूल्य नपाएको भन्दै गाईबस्तुलाई खुवाएको या भण्डारण नगरी खेतबारीमै जोतेर कुहाएको समाचार पनि आए। सामाजिक सञ्जालमा तस्बिर र भिडियो छाए ।
तर, मेयर बालेनले त्यता ध्यान नै दिएनन् । त्यो विषय पनि भारत सँगै जोडिएर आएको हो भन्ने उनले थाहा नपाएको पक्कै होइन । विषादीयुक्त भारतीय तरकारी नेपाल भित्राउँदा भन्सार बिन्दुमा नै विषादीको मात्रा परीक्षण गर्ने नेपाल सरकारको तयारी रोक्न 'त्यसो नगर्नु' भन्ने उपदेशात्मक भारतीय पत्र खोजी गर्दा अहिले पनि इन्टरनेटमा भेटिन्छ । त्यसलाई शिरोधार्य गर्दै नेपालका शासकहरूले घोषित रुपमा नै आफ्ना जनतालाई विष खान बाध्य पारेको दृष्टान्त उनले थाहा नपाएको होइन ।
फेरि पनि उनकै महानगर भित्र रहेको कालीमाटी तरकारी तथा फलफूल बजारमा भएको किसानको त्यो साङ्केतिक विद्रोहमा साथ दिन बालेनले आवश्यक ठानेनन् । नेपाली गोलभेँडा सडकमा फाल्नु पर्ने अवस्था बनेका बेला भारतीय गोलभेँडा प्रतिकिलो ४०-४५ रुपैयाँ मूल्य सहित स्टलमा सजिएको तस्बिरले उनी भित्रको स्वाधीनतालाई जगाएन । भारतीय तरकारीको बिना रोकटोक प्रवेश नै नेपाली किसानको प्रमुख समस्या हो भन्ने नेपाली किसानहरूको गुनासो शायद उनका लागी सुन्नुपर्ने विषय भित्र परेन ।
यसले एकैसाथ केही प्रश्न उब्जाएको छ । पहिलो, के साँच्चै बालेन भारतसँग जोरी खोज्न चाहन्छन् ? वा, यो उनको अरूले आरोप लगाए जस्तै 'स्टन्ट' मात्र हो ? दोस्रो, उनी खासमा कसको स्वार्थलाई केन्द्रमा राखेर काम गरिरहेका छन् ?
घटनाक्रमको अध्ययन गर्दा के देखिन्छ भने बालेन खासमा भारतसँग विद्रोह गर्न आँट भएको व्यक्तिका रुपमा आफ्नो छवि निर्माण गर्न चाहन्छन् । त्यसैले त्यसको प्रचार गर्ने उनको उद्देश्य हो । जसका लागि उनी स्थापित गर्न चाहन्छन्-राजनीतिक दल सम्बद्ध हाम्रा सबै नेताहरु भारत परस्त हुन्। त्यसैले उनले सरकार भारतको गुलाम भएको आरोप लगाए । उनको त्यो आरोप आधारहीन र कोरा काल्पनिक मात्र हो भन्ने ठाउँ छैन । सरकारका गतिविधि हेर्दा बालेनको त्यो निष्कर्षसँग सहमत हुन कर नै लाग्छ ।
हो, उनी नेपालका अदालतसँग पनि विद्रोह गर्न चाहन्छन् । उनलाई लाग्छ अदालत पनि तिनै नेता र त्यही भारतको कुरा सुन्छ । त्यसैले उनी जब केही राम्रो गर्न तम्सन्छन्, एउटाले गएर अदालतमा रिट हाल्दिन्छ अनि अदालतले उनलाई रोकिदिन्छ । त्यसैले अदालतसँग उनलाई रिस उठेको छ । त्यो रिस उठेको अहिले मात्रै होइन । उनको डोजर अभियानमा अदालत तगारो बन्दा देखी नै हो । त्यसो त सधैँ अरूलाई मात्र पत्र काट्ने अदालतलाई 'पार्किङ खोइ ? नक्सा देखाऊ' भन्दै उनले उल्टै पत्र काटेर निकै अघि नै साङ्केतिक विद्रोह गरिसकेका हुन् । अहिले राष्ट्रवादी कार्ड फाल्ने समय मिलेकाले पुरानै विद्रोह ओकेलेका मात्रै हुन्।
यदि उनको विद्रोह भारत विरुद्ध नै हो भने त्यो किसान र तरकारीसँग जोडिएको विषय मार्फत गर्नु पर्थ्यो । भारतीय तरकारी रोकेर नेपाली किसानले सिधै बेच्ने मण्डीहरु तयार गर्नुपर्थ्यो। कम्तीमा काठमाडौँ महानगर भित्र भारतीय विषादीयुक्त तरकारीको प्रवेशलाई पूर्ण रुपमा प्रतिबन्धको घोषणा गर्न सक्नु पर्थ्यो ।
उनले किसानहरूलाई प्रोत्साहन, तालिम र काठमाडौँमा कौसी/ गमला खेती लगायतका कार्यक्रम ल्याएर तरकारीमा भारतसँगको निर्भरताको कमी मात्रै होइन, अन्त्य नै गर्न पनि एउटा अभियानको नेतृत्व गर्न सक्थे । उनको त्यो अभियान सिनेमा प्रदर्शन रोक्ने राष्ट्रव्यापी निर्णय जस्तै गरी मुलुकभर पुग्न सक्थ्यो ।
त्यसका लागि आवश्यक पर्ने जनलहर छ, बालनेसँग । उनले ग्रेटर नेपालको फोटो कार्यालयमा झुन्डाउँदा हजारौँको फेसबुक प्रोफाइलमा त्यही नक्सा देखियो। उनले हिन्दी चलचित्र रोक्दा, हजारौँले उक्त चलचित्रका लेखकलाई "रिप" लेखेको देखियो। रवि लामिछानेले "नेपाली पोसाक मात्रै लगाउँछु" भनेर घोषणा गरे झैँ बालेनले "नेपालमा उत्पादित तरकारी मात्रै खान्छु" भनेर घोषणा गर्ने हो भने त्यसले एउटा बेग्लै क्रान्तिको सुरुवात हुन्छ ।
केही समय अगाडिसम्म नेपाल कुखुराको मासु र अण्डामा परनिर्भर हुनु नपर्ने कुरा असम्भव लाग्थ्यो, आज यो वास्तविकता बनेको छ। उनले काठमाडौँको एउटा चार आनाको खाली घडेरी भाडामा लिएर "ल मेरो परिवारलाई चाहिने धेरै तरकारी म आफै उमार्छु" भनेर लाग्ने हो भने धेरै खाली जग्गामा केही महिना भित्रै लटरम्म तरकारी फलेको देखिनेछ ।
बालनेसँग जनलहर छ, शक्ति छ, विद्रोह छ । तर, के वास्तवमा नै राष्ट्रवादी सोच पनि छ ? यसमा आशङ्का गर्ने प्रशस्त ठाउँ छ । त्यस्तो स्पेस किन देखिन्छ भने भारतीय राष्ट्रिय स्वार्थ भनेको माता सीता नेपाली छोरी हुन् या भारतीय भन्नेसँग जोडिएको छैन । नत बालेनको 'ग्रेटर नेपाल' वाला नक्साले नै उसलाई छुन्छ । नेपालीले चुच्चे नक्सामा राखेको जमिनमा त टेक्न नसकेको यथार्थलाई हेरेर उपहाँस पूर्ण हाँसो कूटनीति तवरले हाँसिरहेको भारतलाई बालेनको कार्यकक्षको भित्तो र नेपालीको फेसबुकको ग्रेटर नेपाल हेर्ने फुर्सद छैन ।
हिन्दुत्वको नारा लगाएर सरकारमा पुगेको र त्यसैको भरमा सत्ता राजनीतिको खेती गरिरहेको भारतीय सत्ता संस्थापनलाई बालेनको 'सीता नेपाली छोरी हुन्' भन्ने दाबीले कुनै घाटा हुँदैन । बरु, लाभ नै हुन्छ । काठमाडौँमा भारतीय सिनेमा चल्न दिन्न भन्ने कुराले कुनै फरक पार्दैन किनभने बलिउडको खास बजार नेपाल होइन । यसले भारतको आर्थिक स्वार्थलाई कुनै अवरोध गर्दैन । तर, नेपाल कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर बन्ने भन्ने कुरा भारतको लागी असह्य हुने विषय हो ।
त्यसैले उसको नेपालसँग जोडिएको आर्थिक स्वार्थमा आक्रमण गर्न सक्नु पर्छ यदि वास्तवमा नै भारतसँग विद्रोह नै गर्ने हो भने । धावा बोल्ने हो भने । स्वाधीनता र आत्मनिर्भरताको लडाई लड्ने हो भने मुलुकलाई आर्थिक रुपमा स्वावलम्बी बनाउने कामको नेतृत्व गर्नुपर्छ, बालेनले । अनि त्यसबेला हेर्नुपर्छ वास्तविक गुलामहरू कति भड्किदा रहेछन् । नेपाल स्वावलम्बी बन्न खोज्दा तगारो बनेर को को दलाल बाहिर निस्कँदा रहेछन् ।
सबैभन्दा महत्त्वपूर्ण त स्वयम् भारतले त्यसबेला कस्तो प्रतिक्रिया दिँदो रहेछ । बालेन विरुद्ध कसरी घेराबन्दी हुँदो रहेछ । यदि त्यसो नगर्ने हो भने भारतीय सिनेमा रोक्ने र ग्रेटर नेपालको नक्सा टाँस्ने अनि अदालत र सरकारलाई भारतीय गुलाम घोषित गर्ने सबै काम केवल पस्टन मात्र नै हो भन्ने बुझ्नु पर्छ । बालेन नामको अर्को एउटा 'पाखण्डी र नौटङ्की' नेपाली राजनीतिमा छिरेछ भन्ने निष्कर्ष निकाले हुन्छ ।
त्यसैले, आशा गरौँ बालेनले तल्लो तहका जनताको भावना र स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने छन् । काम भन्दा कुरा बढी गर्ने पुराना नेताहरुको रोग आफुलाई लाग्न दिने छैनन् । छद्मभेषी राष्ट्रवाद होइन वास्तविक राष्ट्रवाद नै यदि बालेनमा छ भने भारतको विरोध, नेताको निन्दा र अदालतको अवहेलना छाडेर उनलाई साथ दिन तयार रहेका लाखौँ युवा, किसान र सच्चा नेपालीको नेतृत्वको लागि आफुलाई तयार गर्नुपर्छ ।
उनले बुझ्नै पर्छ, राजनीति म्याराथन दौड हो । सय मिटरको दौडमा जस्तो दौडिए भने बालेन चाँडै नै थाक्नेछन् । उनको थकाई सँगै एउटा सम्भावना र विश्वासको पनि मृत्यु हुनेछ ।
प्रतिक्रिया दिनुहोस