aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

करको विषयमा कचकच नगर्नु, बजेटमा संशोधन हुँदैन: अर्थमन्त्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ असार २०८०
करको विषयमा कचकच नगर्नु, बजेटमा संशोधन हुँदैन: अर्थमन्त्री
फाइल फोटो

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मर्जर र एक्विजिसनमा लगाइएको कर संशोधन नहुने बताएका छन् । शुक्रबार परिसंघको २० औँ साधरणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रम बोल्दै अर्थमन्त्री महतले भने, ‘मर्जर र एफपीओमा भएको अतिरिक्त आम्दानीमा कर लगाएको भनेर टिप्पणी आएको छ । यो नयाँ व्यवस्था होइन । यसमा मबाट कुनै निर्णय हुँदैन ।’ 

करको विषयमा जति विरोध भए पनि संशोधन नगर्ने महतको अडान रहेको छ । महालेखाले भनेअनुसार नै त्यसमार्फत कर उठाउन खोजिएको उनको जिकिर छ । 

आफूले बजेटमा नेपाली उद्योगी व्यवसायीहरूलाई केही न केही राहत दिने प्रयत्न गरेको समेत उनले बताए । तर, राज्यले संरक्षण गरेर मात्रै निजी क्षेत्र अगाडी बढ्न नसक्ने बताउँदै उनले भने, ‘कतिपय व्यवसायी साथीहरू बजेटबाट खुसी नभएको पनि हुनसक्छ । समग्रतामा पनि हेर्नु पर्ने हुन्छ ।’

महतले वस्तु आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्नु पर्नेमा समेत जोड दिए । त्यसको सुरुवात आफूले गरेको समेत उनको दाबी छ । आफूले सुधारको पहिलो कदम चालेको उनले बताए । 

आफूले सुधारको मार्गमा टेकेर आगामी आर्थिक वर्षभित्र उल्लेख्य प्रगति गर्नेगरि गृहकार्य थालेको उनले जानकारी दिए । जसका लागि हालको प्रणालीमा संरचनागत सुधार गर्ने काममा आफू लागेको उनले बताए । 

करको विषयमा आफ्नो धारणा दोहोर्‍याउँदै अर्थमन्त्रीले भने, ‘हामीले यसपालि कर बढाएका छैनौँ । तथापि बढी या कम भयो भन्ने विषयमा तुलनात्मकता अध्ययन गर्राैला । हामीले बजेटमा करको दायरा विस्तार गर्ने काम मात्रै गरेका हौँ ।’ 

उनले हरेक वर्ष बढ्दै गएको भ्याट छुटको सूची बढ्ने क्रमलाई आफूले रोकेको बताए । महतले व्यापारीहरूले लेखा प्रणालीमा हिचकिचाहट गरेको आरोप लगाउँदै उनले भने, ‘कतिपय उद्योगी व्यवसायी साथीहरू म कहाँ आएर यो भ्याट लगाइदिनु भएन भन्ने माग पनि गर्नुभयो । तर, मैले भने मूल्य अभिवृद्धि हुँदा मात्रै लाग्ने कुरा हो । यो त झन् राम्रो कुरा हो ।’   

 

 

प्रतिक्रिया दिनुहोस