aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

काठमाडौँ-बेइजिङ सिधा उडान सुरु, पहिलो उडान मार्फत राजदूत श्रेष्ठ फर्के चीन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ असार २०८०
काठमाडौँ-बेइजिङ सिधा उडान सुरु, पहिलो उडान मार्फत राजदूत श्रेष्ठ फर्के चीन

काठमाडौँ । नेपाल र चीन बिचको सिधा हवाई यात्रालाई थप सहज बनाउन आज असार ९ गते शनिवारदेखि काठमाडौँ–बेइजिङ सोझो हवाई उडान सुरु भएको छ । सो क्रमको थालनी गर्दै आज बिहान बिहान काठमाडौँबाट उडेको हिमालय एयरलाइन्सको विमान चीनको राजधानी बेइजिङ पुगेको छ ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहान ७ बजेर ४० मिनेटमा उडान नम्बर एच नाइन ६६५ को जहाज चीन तर्फ प्रस्थान गरेको थियो । उक्त विमान बेइजिङस्थित तासिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयानुसार दिउँसो २ बजेर १५ मिनेटमा अवतरण भएको विमान कम्पनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

दुई छिमेकी नेपाल र चीनको राजधानी बिचको यात्रा चार घण्टा ४५ मिनेटको रहेको छ । बेइजिङ पुगेको विमानले  स्थानीय समयअनुसार दिउँसो ३ बजेर २५ मिनेटमा काठमाडौँ तर्फ उडान भर्ने छ । सो विमान काठमाडौँमा स्थानीय  समय अनुसार साँझ ६ बजेर ३० मिनेटमा अवतरण हुनेछ ।

अब उप्रान्त काठमाडौँ र बेइजिङबिच नियमित उडान सञ्चालन भएको हिमालय एयरलाइन्सले जनाएको छ । सुखद संयोग नै मान्नुपर्छ आज भएको पहिलो उडानमा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ यात्रुका रुपमा  बेइजिङ गएका छन् । उनी केही समय अघि छोरीको विवाहका लागि नेपाल आएका थिए । 

प्रतिक्रिया दिनुहोस