aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्द मुद्दा दायर, आठ करोड बिगो माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असार २०८०
राजस्व चुहावटको आरोपमा १२ जनाविरुद्द मुद्दा दायर, आठ करोड बिगो माग

काठमाडौं । राजस्व चुहावट गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्र बहादुर बिष्टसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । 

भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा कन्स्ट्रक्सन प्रालिलाई नियम विपरित छुट दिएको उनीहरुविरुद्ध आरोप रहेको छ । यसमा बिष्टसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी पनि संलग्न भएको आयोगको भनाई छ । 

उनीहरुले कन्चनपुरबाट महाकाली नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्का दिँदा भवानी कन्स्ट्रक्सन प्रालिले कबोल गरेको अङ्क मिलेमतोमा कम देखाई झुट्टा व्यहोरा उल्लेख गरेको पाइएको छ । सम्झौता र नियम विपरीत राजस्व रकममा छुट तथा मु.अ.कर चुहावट समेत गरी तीन करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बराबरको राजस्व चुहावट गरेको पाइएको छ । उनीहरुविरुद्ध साहि रकमको दोब्बर बराबरको बिगो माग गरिएको छ । 

त्यस्तै, भवानी कन्स्ट्रक्शनले कबोल गरेको अङ्कलाई आधार नलिई कम अंक  देखाई झुट्टा व्यहोरा उल्लेख गरेको अख्तियारको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेतले राजस्व कवोल अङ्क घटाई मु.अ. कर रु.२ करोड ११ लाख ६५ हजार ६०८ रुपैयाँ बराबरको रकम घटी राजस्व निर्धारण गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ । सोहि बराबर बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस