aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

विराटनगरको बजेट ३ अर्ब २८ करोड, घट्यो राजश्वको लक्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० असार २०८०
विराटनगरको बजेट ३ अर्ब २८ करोड, घट्यो राजश्वको लक्ष

विराटनगर । स्थानीय पालिकाहरूले आगामी वर्षको बजेट सार्वजनिक गर्ने दिन अर्थात् असार १० गते विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।

आइतबार महानगरपालिकाकी उपप्रमुख शिल्पा निरौला कार्कीले नगर सभामा आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पेस गरेकी हुन्। आगामी आवमा आन्तरिक राजस्वबाट ९९ करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य राखेको उपप्रमुख कार्कीले बताइन्। चालु आवको तुलनामा आगामी आवमा महानगरले आन्तरिक राजस्वबाट प्राप्त हुने आयको लक्ष्य घटाएको छ ।

चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा महानगरले आन्तरिक राजस्वबाट ५१ करोड ६६ लाख मात्र सङ्कलन गरेको छ। चालु आवमा आन्तरिक आयबाट १ अर्ब ६४ लाख प्राप्त हुने लक्ष्य राखिएको थियो।

विराटनगर महानगरले आगामी आवमा वित्तीय समानीकरण अनुदानबाट ३७ करोड २६ लाख, सङ्घीय सरकारबाट ३४ करोड ८६ लाख, प्रदेश सरकारबाट २ करोड ४० लाख ८८ हजार र बाँडफाँडबाट ८० करोड २४ लाख प्राप्त गर्दैछ । त्यसबाहेक सङ्घीय सरकारबाट सशर्त अनुदान ७७ करोड ७८ लाख, विशेष अनुदान ६ करोड र समपूरक अनुदान ६० लाख प्राप्त हुने कार्कीले जानकारी दिइन्।

 त्यस्तै, उनले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कबाट २० करोड ७४ लाख, घरजग्गा रजिस्ट्रेसन दस्तुरबाट ५५ करोड र सवारीसाधन करबाट ४ करोड सङ्कलन हुने अनुमानित विवरण सार्वजनिक गरेकी छिन् ।

विराटनगर महानगरले आगामी आवमा पूर्वाधार विकासतर्फ १ अर्ब ६५ करोड ५५ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिकमा ६८ करोड, सामाजिक विकासमा ८५ करोड  खर्च गर्ने योजना बनाएको छ । त्यसैगरी, स्वास्थ्यतर्फ १३ करोड ६७ लाख विनियोजन गरेको कार्कीले जानकारी दिइन् ।

त्यसैगरी, शिक्षामा ६७ करोड ९४ लाख, आर्थिक विकासका क्षेत्रमा ३ करोड ९७ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख र वातावरण तथा विपत् व्यवस्थापनमा २ करोड ७२ लाख बजेट विराटनगर महानगर पालिकाले छुटाइएको छ।

प्रतिक्रिया दिनुहोस