
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।
सुनको जलहरी नापतौल र परीक्षण गर्न पशुपतिनाथ मन्दिरको उत्तरतर्फ रहेको रुद्रगारेश्वरमा ल्याइएको छ । जलहरीको निर्माण सोही स्थानमा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ । सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।
के हो जलहरी विवाद ?
पशुपतिमा सुनको जलहरीको विषय प्राण–प्रतिष्ठा गर्नुपूर्व नै विवादित बन्यो । मुचुल्का उठाउने क्रममा भएको सङ्ख्यात्मक त्रुटिका कारण जलहरीको विषय विवादित बनेको हो ।
तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०७७ माघ १२ गते पशुपतिनाथको दर्शनका क्रममा आगन्तुक पुस्तिकामा “आज श्रीपशुपतिनाथको दर्शन गर्ने सुअवसर मिल्यो । स्वर्ण जलहरी बनाउने यहाँको समितिको इच्छा पूरा गर्न अपुग हुने ३० करोड रुपियाँ नेपाल सरकारको तर्फबाट तत्काल उपलब्ध गराइने छ । आगामी महाशिवरात्रिसम्ममा सो जलहरी निर्माण भइसक्ने छ भन्ने विश्वास लिएको छु,” लेखेका थिए ।
त्यसको दुई दिनपछि माघ १४ गते कोषका अध्यक्षसमेत रहनुभएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको कोष सञ्चालक परिषद्को बैठकले सुनको जलहरी निर्माण गर्ने निर्णय गरेको थियो । कार्यकारी निर्देशक खतिवडाले सोही बैठकले जलहरी निर्माणका लागि लाग्ने अनुमानित ८० करोडमध्ये ३० करोड रुपियाँ सरकारले बेहोर्ने र बाँकी ५० करोड कोषले बेहोर्ने गरी निर्णय भएको बताए ।
प्रतिक्रिया दिनुहोस