
बिर्तामोड । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले झापा बिर्तामोडका मिटरब्याजी नबराज विमलीको घर कब्जामा लिएको घोषणा गरेको छ । महिनौंदेखि लघुवित्त, बैंक तथा बित्तीय संस्था र मिटरब्याजीविरुद्ध संघर्ष र चेतावनी दिँदैआएको सो पार्टीले विर्तामोडमा प्रदर्शनसहित विमलीको घर कब्जामा लिएको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका मेचीब्युरो इञ्चार्ज सुमनसिंहको नेतृत्वमा गएका नेता कार्यकर्ताले विमलीको घरमा कालो ब्यानर राख्दै कब्जामा लिएको घोषणा गरेका छन् । विमलीको घरमा पुगेका उनीहरुले नाराबाजी समेत गरेका छन् ।
विमलीले सयौं जनतालाई घरबारविहीन बनाएको, जनतालाई चरम शोषण गर्दै आत्महत्या गर्न बाध्य पारेको, शक्तिको चरम दुरुपयोग गर्दै गुन्डा प्रयोग गरेर पीडितलाई धम्क्याएको आरोप सो दलले लगाएको छ ।
विमलीले जनतालाई चुसेर लिएको सम्पत्ति फिर्ता नगरेसम्म घर कब्जा फुकुवा नगर्ने सो दलले जनाएको छ । विमलीको घरमा ब्यानर राखेर घर कब्जा गरिएको घोषणा गर्दै सो पार्टीका केन्द्रीय सदस्य तथा मेचीब्युरो इन्चार्ज सुमनसिंहले झापाका सबै मिटरब्याजीलाई लुटिएको रकम फिर्ता गर्न आग्रह गर्दा पनि अटेर गरेपछि घर कब्जा गर्नुपरेको बताए ।
विमलीलाई पटक पटक जनता नठग्न, मिटरब्याजको कारोबार बन्द गर्न सम्झाए पनि दादागिरी शैलीमा जनतालाई शोषण गर्न नछाडेकाले घर कब्जा गरिएको सो पार्टीका झापा जिल्ला सचिव सञ्जय सीले बताए ।
प्रतिक्रिया दिनुहोस