aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

दुई प्रेमिकालाई सँगै विष खुवाएर हत्या गरेका जैशीको ठगीयात्रा, ७८ लाख दिएकी युवतीको विवाह पक्का भएपछि खुल्यो रहस्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
दुई प्रेमिकालाई सँगै विष खुवाएर हत्या गरेका जैशीको ठगीयात्रा, ७८ लाख दिएकी युवतीको विवाह पक्का भएपछि खुल्यो रहस्य

काठमाडौं । चिकित्सकको आवरणमा कञ्चनपुर परासन– ७ का २७ वर्षीय मातृकाप्रसाद जैसीले नर्सदेखि सेनाका उच्च अधिकृतलाई समेत ठगी गरेको खुलेको छ । त्यति मात्र होइन, उनको फन्दामा अधिवक्ता र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीसमेत परेका छन् । 

प्रहरीका अनुसार उनले ललितपुर झम्सीखेलमा छाला रोगसम्बन्धी क्लिनिक चलाउने नर्ससँग ७८ लाख रुपैयाँ ठगी गरेका थिए । युवतीलाई जैसीले प्रेमजालमा फसाएका थिए । करिब १८ महिना प्रेमको नाटक गरेका उनले युवतीकै आर्थिक सहयोगमा ४० लाख रुपैयाँको कार खरिद गरेका थिए । बाँकी ३८ लाख रुपैयाँ भने उनले घर खर्च भन्दै लिएका थिए । 

जैसीको गफमा परेकी युवती विवाह गर्ने मनस्थितिमा पुगेकी थिइन् । गत १८ वैशाखमा दुईबीच विवाहको मिति तय भएको थियो । परिवारका सदस्यसँग भेट भएपछि मात्रै जैसी चिकित्सक नभएको खुलेको थियो । प्रहरीका अनुसार जैसीले नेपाली सेनामा कार्यरत प्रमुख सेनानी (कर्नेल)की श्रीमतीलाई पनि त्यसै गरी ठगेका थिए ।

उनले कर्नेलकी श्रीमतीसँग एक करोड २५ लाख रुपैयाँ लिएका थिए । उनीसँग जग्गाको कारोबार गर्ने भन्दै रकम असुल गरेका थिए । त्यसपछि उनी बेपत्ता भएका थिए ।जैसीले विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीसँग २५ तोला सुन ठगी गरेका छन् । त्यस्तै, उनले एक परिचित अधिवक्तालाई पनि ठग्न भ्याएको खुलेको छ । घरमा आमाको उपचार गर्न भन्दै उनले अधिवक्तासँग साढे दुई लाख रुपैयाँ फुत्काएका थिए । त्यसपछि उनी सम्पर्कविहीन बनेका थिए । अध्यागमन कार्यालयका कर्मचारीबाहेक ठगी परेका तीनैजना पीडितले जैसीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंका जाहेरी दिएका छन् । जैसीलाई पक्राउ गरेर डिएसपी भरत शाहको नेतृत्वमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रहरी भन्छ– पाइलैपिच्छे ठगी
काठमाडौं परिसरका प्रवक्ता एसपी सीताराम रिजालले चिकित्सकको आवरणमा जैसीले नर्सदेखि अधिवक्तासम्मलाई ठगी गरेको बताए । ‘एकजना नक्कली चिकित्सक पक्राउ परेका छन् । उनले नर्सदेखि अधिवक्तालाई समेत ठगेको अनुसन्धानबाट खुलेको छ । उनले नेपाली सेनामा कार्यरत एक उच्च अधिकृतकी श्रीमतीलाई पनि ठगेको अनुसन्धानबाट खुलेको छ,’ एसपी रिजालले भने, ‘त्यसबाहेक अन्यलाई पनि ठगेका गुनासो हामी कहाँ आएको छ । तर, उनीहरूको जाहेरी भने आइसकेको छैन ।’

प्रहरीका अनुसार जैसीले ठगी गर्न नेपाल मेडिकल कलेज नेपालगन्जको लोगोअंकित विशेष कार्ड बनाएका थिए । डिजिटल कार्डमा उनको फोटो छ । फोटोको ठीक तल कार्ड नंं. २१५ लेखिएको छ । कार्डको पुछारमा ‘गाइनोकोलोजिस्ट’ उल्लेख छ । सोही कार्ड प्रयोग गरी उनले आफूलाई ‘गाइनोकोलोजिस्ट’ र वीर अस्पतालको १२औँ तहमा कार्यरत चिकित्सक बताउने गरेका थिए । आजको नयाँपत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस