aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ असार २०८०
पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदिप ढकालविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौंमा ढकालविरुद्ध मुद्दा दायर गरेको हो । 

अख्तियारका अनुसार तत्कालीन सदस्य सचिव डा. ढकालले पदमा बहाल रहँदा गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पाइएको छ । उनी सार्वजनिक सेवा प्रवेश गरेको मिति २०७४ साल साउन ३२ गतेदेखिको  सम्पत्ति विवरण पेश गरेको मिति २०७९ साल जेठ ३० गतेसम्मको अवधिलाई अनुसन्धानको जाँच अवधि कायम गरिएको थियो । 

यस अवधिमा विभिन्न शीर्षकमा भएको आयलाई विश्लेषण गर्दा आयतर्फ निज सार्वजनिक सेवामा प्रवेश गर्दाको बखत उनी र उनको परिवारको बैंक खातामा रहेको मौज्दात रकम, निजको पारिश्रमिक बचत लगायत हेरिएको थियो । जसमा आयतर्फ स्रोत खुलेको ६ करोड ३९ लाख ९३ हजार ३१२ रुपैयाँ देखिएको छ । यसै अवधिको विभिन्न शीर्षकमा भएको व्ययतर्फ अनुसन्धान गर्दा सात करोड चौरासी लाख पाँच हजार चौरानब्बे रूपैंया बाह्र पैसा खर्च तथा लगानी भएको देखिन्छ । 

वैधानिक श्रोत खुल्न नसकेको लगानी एवं सम्पत्ति एक करोड ४४ लाख ११ हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा रहेको आयोगले जनाएको छ । सार्वजनिक पद धारण गरेका ढकालले प्रचलित कानुनबमोजिम पेश गरेको सम्पत्ति विवरण अमिल्दो तथा अस्वाभाविक देखिएको अख्तियारको भनाई छ । उनीविरुद्ध एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।  

 

प्रतिक्रिया दिनुहोस