aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

वातावरण तथा सरसफाइमा काठमाडौं सचेत, अरू महानगरले छुट्याएनन् आवश्यक बजेट

  • रिता राउत
    रिता राउत
  • सोमबार, ११ असार २०८०
वातावरण तथा सरसफाइमा काठमाडौं सचेत, अरू महानगरले छुट्याएनन् आवश्यक बजेट

काठमाडौं । असार १० गते भित्र ७५३ वटा स्थानीय तहले अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक प्रावधान छ । सोही अनुरुप आइतबारसम्ममा मुलुकका ६ वटै महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

वीरगन्ज महानगरपालिकाले गत बुधबार नै बजेट ल्याएको हो भने अन्य बाँकी महानगर पालिकाहरूले आइतबार ल्याएका हुन् । सबै महानगरपालिकाको बजेट पुस्तिका हेर्दा 'वातावरण तथा सरसफाइ क्षेत्रमा काम गरिनेछ' भन्ने वाक्यांश देखिन्छ । तर, विनियोजित बजेट हेर्ने हो भने जो कोही निराश बन्छ।  

नीति तथा कार्यक्रम हेरेर भन्दा पनि कुन महानगरले कति रकम वातावरण क्षेत्रका लागि छुट्यायो भन्ने कुराले सो महानगर वातावरणको मामिलामा कति संवेदनशील छ भन्ने देखाउँछ । त्यसैले बजेटमा हरेक महानगरले के कस्ता कार्यक्रमका लागि  कुन मात्रामा बजेट विनियोजन गरे भन्ने हेर्नुपर्ने हुन्छ ।  

अब्बल: काठमाडौं महानगरपालिका  

देशभरका महानगरपालिकाहरुमध्ये वातावरण तथा सरसफाइ क्षेत्रमा बजेट छुट्याउनेमा काठमाडौं महानगरपालिका अब्बल देखिएको छ ।  काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जसमध्ये महानगरले 'धुलोरहित काठमाडौं योजना' कार्यान्वयन गर्नका लागि एक अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्यसबाहेक फोहोर व्यवस्थापन र स्वच्छ सफा महानगर राख्न मुख्य चुनौती रहेको काठमाडौं महानगरले आगामी आवको लागि सुन्दर महानगर योजना अन्तर्गत २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसका साथै फोहर मैला व्यवस्थापन र वातावरण क्षेत्रसँग सम्बन्धित विभागीय कार्यक्रम समेतका लागि ८७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

वायु प्रदूषण, ध्वनि प्रदूषण लगायतका पर्यावरणीय क्षेत्रसँग सम्बन्धित विषयमा विभिन्न अध्ययन एवं अनुसन्धानको लागि आवश्यक रकम विनियोजन गरिने बजेटमा उल्लेख गरिएको छ ।  

महानगर क्षेत्रभित्रका नदीहरूको नियमित सरसफाइ गरी नदी किनार क्षेत्र समेतको संरक्षण कार्यक्रमलाई महानगर स्वर्णिम योजनाको रुपमा संचालन गर्न ७ करोड रकम छुट्टाएको छ । यस कार्यक्रममा विभिन्न सङ्घसंस्था, निजी क्षेत्र र सरकारी निकायहरूसँग समेत समन्वय गरी कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइने महानगरले जनाएको छ ।

आगामी आर्थिक वर्षभित्रमा फोहर मैला व्यवस्थापनको उपयुक्त विधि र प्रणाली सहितको कार्यक्रम संचालन गर्न आवश्यक रकम विनियोजन गरेको दाबी बजेटमा गरिएको छ । सरसफाइ कार्यमा प्रयोग हुने सवारी साधन एवं यन्त्र उपकरणको उपलब्धतामा कमी नहुने व्यवस्था गर्न त्यस्ता सवारी साधन र उपकरण खरिद गर्नका लागि २७ करोड रुपैयाँ पनि काठमाडौं महानगरले विनियोजन गरेको छ । (पूर्णपाठ

कमजोर: ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६ अर्ब ५० करोड पाँच लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । तर, यो महानगरपालिकाले विभिन्न शीर्षक किटान गरेर भने बजेट छुट्टाएको छैन । वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धनदेखि स्वच्छ हराभरा युक्त महानगर बनाउने भनेर बजेटको पुस्तिकामा समेटेपनि यसका लागि के कति बजेट विनियोजन गरियो भन्ने खुलाइएको छैन ।  (पूर्णपाठ

उदाशीन: पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले आगामी आवका लागि सात अर्ब १५ करोड १५ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यस महानगरको बजेट पुस्तिका पल्टाएर हेर्ने हो भने वातावरण तथा सरसफाइ क्षेत्रमा उदाशीन रहेको देखिन्छ । 

आगामी आवको लागि यस महानगरले ल्याएको बजेटमा फोहोर मैलाको वैज्ञानिक व्यवस्थापन र प्रदूषण नियन्त्रण गर्ने, व्यवस्थित सहरीकरणको थालनी गर्ने उल्लेख गरिएको छ । तर, बजेट भने छुट्याइएको छैन । 

महानगरको फोहर मैला व्यवस्थापनका साथै अन्य आवश्यक कार्यका लागि एक थान एक्स्काभेटर खरिदका लागि एक करोड १७ लाख विनियोजन गरिएको छ । महानगरपालिकाका सबै वडाहरूमा एक वडा एक स्मार्ट शौचालय बनाउने नीति अनुसार शुद्ध पिउने पानी सहितको सुविधा सम्पन्न शौचालय निर्माणका लागि एक करोड ५० लाख छुटाइएको छ । 

सहरी सुन्दरतामा प्रतिकुल असर पार्ने सवारी साधन मर्मत वर्कसपहरूलाई एकै स्थानमा व्यवस्थित गर्न अटो भिलेज स्थापनाका लागि ५० लाख विनियोजन गरिएको छ ।  (पूर्णपाठ

चिन्तित: वीरगन्ज महानगरपालिका

मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको छ । जसमा सडकका दायाँबायाँ, सार्वजनिक खाली जग्गामा वृक्षारोपण गरी हरित नगर अभियान सञ्चालन गरी सहरी सौन्दर्यीकरणमा जोड दिइने उल्लेख छ ।  

पूर्वाधार निर्माण गर्दा काट्नुपर्ने रुखहरूलाई सुरक्षित अन्यत्र स्थानान्तरण गर्न वृक्ष स्थानान्तरण मेशिन (ट्री ट्रान्सप्लान्ट मेसिन) खरिद गरिने बजेटमा उल्लेख छ । यसका लागी ५० लाख विनियोजन गरिएको छ । सिर्सिया नदी प्रदूषण नियन्त्रण गरी नदी प्रणालीको स्वच्छता प्रवर्द्धन गर्न सबै तहका सरकार र सरोकारवालाहरू, उद्योगी व्यवसायीहरूसँग लागत साझेदारी गरिने समेत महानगरले जनाएको छ ।

सरसफाइ तथा खानेपानी क्षेत्रको लागि महानगरले ‘म सफा गर्छु मेरो घर आँगन, स्वच्छ, सुन्दर नगर अभियान’ सञ्चालन गरी आ–आफ्नो आवास क्षेत्र सरसफाइमा सबै नगरवासीको सक्रिय सहभागिता जुटाइने बजेटमा उल्लेख गरिएको छ । यसका लागि उत्कृष्ट सफाइ घरपरिवार पहिचान गरी पुरस्कृत गरिनेछ ।

ल्यान्डिङ साइट र ग्रिन हस्पिटल वेस्ट म्यानेजमेन्ट सेन्टरलाई व्यवस्थित रूपबाट सञ्चालन गरी यसबाट थप आय आर्जन हुने प्रबन्ध मिलाइने महानगरले जनाएको छ । महानगरको ढल सरसफाइ अभियानलाई निरन्तरता दिइने र अन्य ग्रामीण वडाहरूमा ढल विस्तार योजना अघि बढाइने भएको छ ।

आगामी आवको बजेटमा उल्लेख भएअनुसार सहरका विभिन्न स्थानहरूमा वाटर एटिएम सञ्चालन गरिनेछ । सफा नेपाल मोबाइल एप मार्फत सरसफाइ प्रणालीको डिजिटल अनुगमन तीव्र तुल्याई जथाभाबी फोहोर गर्नेलाई जरिवाना गर्ने कार्य निरन्तर रहनेछ । ढल प्रशोधन केन्द्रलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन आवश्यक प्रबन्ध मिलाइने महानगरले जनाएको छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा वीरगन्जले १२ करोड विनियोजन गरेको छ । (पूर्णपाठ

कुरा राम्रा, छैन बजेट: विराटनगर महानगरपालिका 

आगामी आर्थिक वर्षका लागि ल्याएको विराटनगर महानगरपालिकाको बजेट पुस्तिका पल्टाउँदा वातावरण तथा सरसफाइ क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ । ‘हामी सबैको सहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ बनाउने मुख्य सोचसहित बजेट सार्वजनिक गरिएको छ ।    

निर्माण व्यवसायी तथा व्यक्तिले महानगर क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्न ढुवानी गर्दा सरसफाइ व्यवस्थापनको कार्य योजना अनिवार्य गराइने बजेटमा उल्लेख छ । त्यसैगरी कवाडी जन्य सामग्री बेचबिखन ओसारपसार र भण्डारण गर्दा सहरको सौन्दर्यलाई नबिगारी व्यवसाय सञ्चालन गराउने महानगरले जनाएको छ । निर्माण पूर्वट्रान्सपोर्ट व्यवशायीहरुले  व्यवसायस्थलको नाला नियमित संरक्षण, सफाइ तथा प्राङ्गणभित्र शौचालयको व्यवस्था, ध्वनि प्रदूषण व्यवस्थापन, वातावरणमैत्री व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गरिनेछ ।

व्यक्ति तथा कम्पनीको जग्गा खाली राखी सो स्थानमा फोहोर फालेको पाइएमा स्वयं जग्गाधनीले फोहोरको सफाइ गर्नुपर्नेछ । घर, पसल, व्यवसाय अगाडीको फोहोर व्यवस्थापन हरियाली तथा सुन्दर एवं रमणीय गर्ने व्यक्ति तथा संस्थाहरूलाई महानगरपालिकाको लोगो प्रदान गरि सम्मान गर्ने योजना विराटनगर महानगरको रहेको छ ।

व्यवसाय दर्ता गर्दा सफाइ व्यवस्थापनको सुनिश्चितता तथा अनिवार्य फोहोर राख्ने भाँडो राख्नका लागि अभिप्रेरित गर्ने जनाएको छ । महानगरभित्र निर्माण सामग्री लिएर प्रवेश गर्ने गाडीहरूलाई अनिवार्य सफाइ गरेर मात्र प्रवेश गर्न दिइनेछ ।

निजी क्षेत्रको साझेदारीमा घुम्ती शौचालयको व्यवस्थापन गरिनेछ । हरियाली प्रवर्द्धन गर्न निजी क्षेत्र र अन्य सामाजिक संघसंस्थाहरुको साझेदारीमा सडक तथा नदीको किनार र खाली ऐलानी जग्गामा वृक्षारोपण गर्ने एवं बिरुवा हुर्काउने अभियानलाई निरन्तरता दिइनेछ । विभिन्न साझेदार संस्थाहरूसँगको सहकार्यबाट फोहोर मैला व्यवस्थापनका लागि अन्तिम विसर्जन स्थलको व्यवस्थापन आधुनिक प्रविधि वेस्ट टु इनर्जी एवं इन्भाइरोमेन्टल फ्रेन्ड्ली प्रविधिबाट गरिने पनि विराटनगरको योजना छ ।

घर तथा होटल व्यवसायबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाउने विधिलाई अवलम्बन गरी नगरक्षेत्रभित्र सरसफाइ कार्यलाई प्रोत्साहन गर्ने, अस्पतालजन्य फोहोर मैला व्यवस्थापन गर्न सम्बन्धित क्षेत्रलाई पूर्ण रुपमा जिम्मेवार बनाउने तथा जथाभाबी फोहोर गर्ने जोसुकैलाई दण्डनीय बनाइने कार्यलाई निरन्तरता दिइने महानगरले जनाएको छ।

प्रदूषण रोकथाम र नियन्त्रण गर्ने कार्यलाई थप प्रभावकारी बनाउने, जलवायु परिवर्तन अनुकूलताका उपायहरू अवलम्बन गर्ने महानगरको योजना छ । प्लास्टिक झोला प्रतिबन्ध कार्य योजना, २०७८ लाई कार्यान्वयन गरी प्लास्टिक झोलालाई न्यूनीकरण गर्न कपडाको झोला प्रयोगमा ल्याउन निजी क्षेत्रसँग समन्वय सहकार्य गरिनेछ ।

बजेटमा थप उल्लेख छ- 'हानिकारक फोहोर सम्बन्धी नीति नियम कार्यविधि तथा मापदण्ड तयार पारी कार्यपालिकाबाट स्वीकृत गराइ कार्यान्वयन तथा नियमन गरिनेछ । वातावरणीय प्रदूषण हुने क्षेत्रहरूजस्तै उद्योगधन्दा सवारी साधन र अन्य क्षेत्रबाट हुने वायु प्रदूषण ध्वनि प्रदूषण, फोहोर मैला व्यवस्थापनका लागि मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइनेछ । नवीकरणीय ऊर्जा नीति तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।'

सरसफाइ तथा वातावरणीय क्षेत्रमा काम गर्ने भनेर विराटनगर महानगरपालिकाको बजेटमा थुप्रै बुँदाहरू समावेश भए पनि रकम भने अति न्यून विनियोजन गरेको छ । आगामी आवको लागि तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट ल्याएको यस महानगरपालिकाले वातावरण तथा विपत् व्यवस्थापन क्षेत्रतर्फ दुई करोड ७३ लाख रुपैयाँ मात्रै बजेट विनियोजन गरेको छ । त्यसबाहेक फोहोर पानी प्रशोधन केन्द्रका लागि दुई करोड ६५ लाख विनियोजन गरिएको छ ।  (पूर्णपाठ

बेवास्ता: भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा मासिक ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने, फोहोरको प्रभावकारी सङ्कलन, ढुवानी तथा व्यवस्थापन एवं हरियाली प्रवर्द्धन गर्ने लगायतलाई प्राथमिकतामा राखिएको छ । यी नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि जम्मा ४ करोड बजेट विनियोजन गरिएको छ ।

६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट ल्याएको यस महानगरपालिकाले दिगो फोहोरको व्यवस्थापनको लागि व्यवस्थित ल्यान्डफिल्ड साइड पूर्वाधार निर्माण कार्यको प्रारम्भ गरिने उल्लेख गरेको छ । जसको लागि तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । महानगरपालिकालाई हरियालीमैत्री बनाउन हरियाली महानगरपालिका कार्यक्रम कार्यान्वयनमा ल्याउनको लागि चार करोड रुपैयाँ बजेट छुटाइएको छ । (पूर्णपाठ

प्रतिक्रिया दिनुहोस