काठमाडौं । गत बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आन्तरिक तर्फको हवाई भाडा घटायो । त्यो समाचार सबै जसो सञ्चार माध्यममा प्रकाशित भएपछि धेरैलाई लागेको थियो- अब केही वर्षअघि जस्तै सस्तो भाडामा हवाई यात्रा गर्न पाइने भो । तर, अवस्था त्यसो भने होइन ।
खासमा भाडा घटेको भनेको हवाई इन्धनको मूल्यमा आएको कमीले गर्दा मात्र हो । त्यसको आधारमा लागत गणना गर्दा देखिने रकम मात्र घटेको कारण काठमाडौं–विराटनगरको भाडामा मात्र दुई सय ४० रुपैयाँले घटेको छ । नयाँ भाडादर अनुसार यस रुटको लागि यात्रुले तीन हजार ६ सय रुपैयाँ तिर्नु पर्ने गरी कायम भएको छ । र, त्यही अनुसारको दर रेट सार्वजनिक भएको पनि देखिन्छ ।
तर, वायुसेवा कम्पनीहरूले भने चार हजार ८ सय रुपैयाँदेखि आठ हजार २ सय रुपैयाँसम्म यात्रुबाट लिँदै आएका छन् । यसो किन ? यो प्रश्न धेरै यात्रुलाई छ । यसको जवाफ यो हो कि लागतको हिसाबले गणना गर्दा देखिएको सो मूल्यमा थप कर र एयरपोर्टको भाडा जोड्न नै बाँकी छ ।
त्यसमा उल्लेखित खर्च जोड्दा बनेको न्यूनतम भाडा हो, ४ हजार ९ सय रुपैयाँ । त्यसबाहेक टिकटको श्रेणी अनुसार भाडा बढ्दै जान्छ । त्यसैले हामीले यदि आज असार १२ गतेको लागि बुद्ध एयरको काठमाडौँ-विराटनगर रुटको भाडा दर हेर्ने हो भने चार हजार ९ सय रुपैयाँदेखि पाँच हजार ९ सय रुपैयाँसम्म रहेको पाउँछौ ।
त्यस्तै, सोहि रुटका लागि यति एयरलाइन्सको चार हजार आठ सय रुपैयाँदेखि सात हजार ६ सय रुपैयाँसम्म रहेको छ । यसका साथै श्री एयरलाइन्सको पाँच हजार पाँच सय रुपैयाँदेखि आठ हजार सात सय रुपैयाँसम्म भाडा रहेको छ ।
हवाईजहाजको भाडादर कसरी कायम गरिन्छ भन्ने प्रश्नको जवाफ दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल भन्छन्, 'अहिलेको भाडादर पनि वि.स. २०७३ सालदेखि लागू गरिए अनुरुप कै भाडादर हो । गत साता सार्वजनिक गरिएको भनेको फ्यूल सरचार्ज हो । आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि त्यही रेसियोमा फ्यूल सरचार्ज पनि घटाउनु पर्ने हुन्छ ।'
उनका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ । उदाहरणको लागि हेर्ने हो भने काठमाडौं–धनगढीको उडान समय ८३.०९ मिनेट हो । यस रुटका लागि ‘फ्यूल सरचार्ज’ मात्रै ६ हजार ६२५ रुपैयाँ तिर्नु पर्ने हुन्छ । फ्यूल सरचार्ज घट्दा हवाई भाडाको जम्मा मूल्य पनि घट्ने गर्छ । त्यही दिनबाट लागू हुने गरेर लागू गर्न प्राधिकरणले दिएको आदेश हवाई कम्पनीहरूले भोलीपल्टबाट नै कार्यान्वयनमा ल्याइसकेका छन् । तर, भाडादर हेर्ने हो भने पहिले र अहिले घटेकोमा खासै फरक पाइएको छैन ।
क्यानका अनुसार यस पटक काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ । घटेको भाडादर अनुसार यस रुटको लागि १३ सय ५० रुपैयाँ यात्रुले तिर्नु पर्ने हो तर, यस रुटका लागि यात्रुहरूले ३५ सय रुपैयाँदेखि ३७ सय रुपैयाँसम्म तिर्नु परिरहेको छ । त्यसको कारण पनि त्यही हो कि उल्लेखित भाडामा थप अन्य खर्च जोडिएर कुल भाडा कायम हुन्छ ।
नयाँ भाडा दर अनुसार नै अहिले यात्रुहरू ओसारपसार गरिरहेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन् । उनी भन्छन्, 'क्यानले नयाँ भाडादर कायम गरेपछि हामीले पनि भाडादर घटाएका छौँ । क्यानले तोकेको भाडामा इन्धन शुल्कदेखि एयरपोर्ट शुल्क चार्ज जोडेर हामीले यात्रुहरूसँग भाडा लिएका हुन्छौं । यी सबै चार्ज जोड्दा भाडादर त्यति पर्न पुगेको हो ।’
उनका अनुसार तोकिएको भाडदारमा यात्रुहरूले थप एयरपोर्ट सर्भिस चार्ज पाँच सय रुपैयाँ तिर्नु पर्ने हुन्छ । यससंगै इन्धन शुल्कबापतको चार्जमा १३५० रुपैयाँ तिर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस