
धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट ल्याउन नसकेका हुन्। यही असार १० गतेभित्र सबै स्थानीय तहले बजेट ल्याइसक्ने कानुनी प्रावधान भए पनि मिथिला नगरपालिका, कमला नगरपालिका, सहिदनगर नगरपालिका, धनौजी गाउँपालिका र औरही गाउँपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेका छैनन् । यी पालिकाहरूमा अल्पमत बहुमत तथा योजना बाँडफाँटमा विवाद देखिएको थियो ।
मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट ल्याउन कठिन भएको आरोप लगाए । पटक–पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो थियो । “दुई पटक नगरसभा गर्ने विषयमा कार्यपालिका बैठक आह्वान गर्यौँ तर दुवै पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु अनुपस्थित हुनुभयो”, उनले भने, “बुँदागतरूपमा उहाँहरुले हालसम्म कुनै माग पनि राख्नुभएको छैन । खै के हो ? उहाँहरुसँगै बुझ्नुस् ।” यस विषयमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन उठाइएन ।
सहीदनगर नगरपालिकामा नगरसभा हुनेबारे कुनै तयारी छैन । जनप्रतिनिधिहरु नगरप्रमुखसँग असन्तुष्ट छन् । नगरप्रमुख दिनेशप्रसाद यादवले बजेट ल्याउन केही समय लाग्ने बताए । सबै पक्षलाई समेटेर अगाडि बढ्न खोज्दा निर्धारित समयमा बजेट ल्याउन नसकेको उनको भनाइ थियो तर उपप्रमुख सुनिताकुमारी सिंहले छलफल गर्न बाँकी रहेका कारण बजेट ल्याउन नसकेको बताए । योजना तर्जुमा भए पनि अन्य विषयको छलफलमा सहमति नभएकै कारण अगाडि नबढेको उनको भनाइ थियो । “केही विषयमा छलफल गर्न बाँकी छ । योजना र राजस्व परामर्श समितिहरुसँग पनि छलफल गर्न बाँकी छ । उपप्रमुख सिंहले योजना बाँडफाँटतर्फ सङ्केत गर्दै भने, “प्रमुख प्रशासकीय अधिकृत सावन चौधरी पनि बाहिर छन् । अब हामी छलफल गरेर बजेट ल्याउने तयारी गर्छौं ।”
प्रतिक्रिया दिनुहोस