
काठमाडौं । चिनियाँ धनाढ्य एवं अलिबाबा समूहका संस्थापक ज्याक मा काठमाडौं आएका छन् । सात सदस्यीय टोलीसहित उनी मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । अध्यागमन विभागका सूचना अधिकारी खिमराज भुसालका अनुसार ज्याक मा बंगलादेशबाट चार्टर फ्लाइटमा आएका हुन् । उनले १५ दिनको अनअराइभल पर्यटन भिसा लिएका छन् ।
बत्तीसपुतलीस्थित द्ववारिकाज होटेलमा बसेका ज्याक माको भ्रमण कार्यक्रमबारे केही सार्वजनिक गरिएको छैन । उनी नेपालमा कति दिन बस्छन्, कहाँ–कहाँ जान्छन् र कस–कसलाई भेट्छन् भन्ने खुलाइएको छैन । यद्यपि, नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले ज्याक मासँग प्रधानमन्त्रीको भेट तय भइनसकेको बताए । ‘कुराकानी भइरहेको छ, तर भेट्ने तयचाहिँ भइसकेको छैन,’ उनले भने, ‘वैधानिक ढंगबाट नेपालमा लगानी गर्न चाहनेलाई नेपाल सरकारले स्वागत गर्छ, प्रधानमन्त्री यस मामिलामा सकारात्मक हुनुहुन्छ, समय मिलेसम्म उहाँसँग भेट हुन सक्छ ।’ निजी क्षेत्रसँग पनि ज्याक माको कुनै बैठक वा भेटघाट तय भएको छैन । नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थीले ज्याक मासँग महासंघको कुनै भेट तथा छलफल कार्यक्रम तय नभएको बताए ।
को हुन् ज्याक मा ?
१० सेप्टेम्बर १९६४ मा चीनको हाङ्जाउमा जन्मिएका ज्याक मा बाल्यकालदेखि नै अंग्रेजी भाषाप्रति लगाव राख्थे । त्यसकै कारण उनी नौ वर्षको हुँदा टुरिस्ट गाइड गर्न २७ किलोमिटर साइकल चलाएर जान्थे । यसरी उनले अंग्रेजी भाषा सुधार गरेका थिए ।
ग्य्राजुएसनपछि ज्याक माले अंग्रेजी शिक्षकका रूपमा करिअर सुरु गरे । जागिरका लागि ३० पटकभन्दा बढी आवेदन दिँदा पनि उनले असफलता मात्रै पाए । केही सीप नलागेपछि प्रहरीमा भर्ती हुने उनको कोसिस पनि व्यर्थ भयो । कतिसम्म भने एकपटक चीनमा खुलेको केएफसीको ब्रान्चमा जागिरका लागि ज्याक माले अन्तर्वार्ता दिए । तर, २४ जनामध्येबाट २३ जना छनोट भए, उनी मात्रै फालिएका थिए । आजको नयाँपत्रिकामा छ ।
सन् १९९५ मा ज्याक मा आफ्ना केही साथीसहित अमेरिका पलायन भए । त्यहाँ पुगेपछि उनले इन्टरनेटमा चीनबारे सामग्री खोजे । आफूले खोजेको चिज नभेटेपछि पुनः चीन फर्केर इन्टरनेट कम्पनी सुरु गरे । यसमा लगानीकर्ता तुरुन्तै लगानी गर्न राजी भए । ज्याक मा आफैँलाई कम्प्युटरबारे खासै जानकारी थिएन । तर, ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैँ उनले अनलाइन बिजनेस थाले । सन् १९९९ मा उनले साथीहरूसँग मिलेर ई–कमर्स कम्पनी अलिबाबाको स्थापना गरे । त्यसको सुरुवाती चरणमा चिनियाँ नागरिकले उनलाई ठग भन्ठाने । तर, बिस्तारै इन्टरनेटको विस्तारबाट अलिबाबाको कारोबार बढ्न थाल्यो ।
प्रतिक्रिया दिनुहोस