aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ गर्न थाल्यौँ, यतिमै रोकिने छैनौँ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
‘ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ गर्न थाल्यौँ, यतिमै रोकिने छैनौँ’

काठमाडौं  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुद्धीकरणको क्रम अहिले नै नरोकिने स्पष्ट पारेको छन् । बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

विकृति विरुद्धका लडाइ अगाडी बढाइने र शुद्धीकरणको क्रम अहिले नै नरोकिने उनले दोहोर्‍याए । प्रधानमन्त्रीले भने, ‘यो शुद्धीकरण यतिमा रोकिने छैन । यो निरन्तर अगाडी बढ्ने छ । हिजोबाट प्रधानमन्त्री निवासमै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेका छन् । मिटरब्याजी र ठगहरूमाथिको कारबाही सुरु भइसकेको छ । वर्षौँदेखि विकृतिको डङ्गुर सफा गर्ने सुशासनको यो लडाइमा मलाई सदन र जनताको समर्थनको आवश्यकता छ ।’       

उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको बताउँदै उनले अगाडी भने, ‘हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनिरहेको थियो । त्यसले जनतामा ठूलो आक्रोश बनाइरहेको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरेको इतिहासकै ठूलो अनुसन्धान र कारबाही पछि जनतामा विश्वास जागेको छ ।’   

‘यसबिचको सरकारको सबैभन्दा ठूलो उपलब्धि व्यवस्था प्रति जनतामा जगाएको भरोषामा मानेको छु । मैले नेतृत्व लिँदै गर्दा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो अहिले त्यसमा सुधार भएको छ । यो नै सबैभन्दा ठूलो उपलब्धि मानेको छु’ उनले भने ।  

नेपाल विद्युत् प्राधिकरण, नेपाल आयल निगम नाफामा गएका र नेपाल वायुसेवा निगमको आर्थिक अवस्था सुधारोन्मुख रहेको उनको दाबी छ । शैक्षिक सत्र शुरु हुनु भन्दा पहिले नै पाठ्यपुस्तक पुर्‍याउन सकेको समेत उनले बताए । यसका साथै उनले विदेशी भूमिमा समस्यामा परेकाहरूको पनि उद्धार गरिरहेको उनले जानकारी दिए ।   

 

 

 

प्रतिक्रिया दिनुहोस