aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बढी शुल्क लिने मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारवाही

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ असोज २०७६
बढी शुल्क लिने मेडिकल कलेजले शुल्क फिर्ता नगरे कारवाही

काठमाडौं ।सरकारले तोकिएको भन्दा बढी शुल्क लिएका मेडिकल कलेजलाई एक महीनाभित्र शुल्क फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयसम्बद्ध पदाधिकारीको बैठकले विभिन्न मेडिकल कलेजले तोकिएको भन्दा बढी शुल्क लिए शुल्क फिर्ता गर्नुपर्ने निर्णय गरेको हो । 

बैठकले तोकिएको शुल्कभन्दा बढी रकम एक महीनाभित्र फिर्ता गर्न मेडिकल कलेजलाई सार्वजनिकरूपमा आह्वान गर्ने र नगरे कारवाही अघि बढाउने निर्णय गरेको हो । 

बैठकमा गृहमन्त्री थापाले मेडिकल शिक्षाको शुल्क विसं २०७२ मा तोकिएपछिको अवधिमा लिइएको बढी शुल्क फिर्ता गराउन राजनीतिक समाधान र कानुनी कारवाही दुवै प्रक्रिया अघि बढाइने बताए ।

शिक्षामन्त्री पोखरेलले गतवर्ष मन्त्रिपरिषद्को बैठकले बढी शुल्क लिए सम्बन्धित कलेज रहेको जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने निर्णय गरेको बताएन। उहाँले बढी शुल्क फिर्ता नगरे सोहीअनुरूप कारवाही अघि बढाउनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए  । 

बैठकमा गृहसचिव प्रेमकुमार राई, शिक्षा सचिव महेश दाहाल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुधा त्रिपाठी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरी, त्रिवि चिकित्साशास्त्र सङ्कायका डिन डा जगदीश अग्रवाल, काठमाडौं विश्व विद्यालयका डिन राजेश कोजुलगायतको उपस्थिति रहेको थियो । 

काठमाडौँ उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि रु ३८ लाख ५० हजार र उपत्यकाबाहिर रु ४२ लाख ५० हजार मात्रै शुल्क लिने गरी सरकारले सीमा तोकेको छ । 

प्रतिक्रिया दिनुहोस