काठमाडौं । प्राइम सेरामिक्स प्रालीले बिहीबारदेखि आफ्नो उत्पादन प्राइम टाइल्स विथ स्टाइललाई बजारमा ल्याएको छ । कम्पनीले बिहिबार पत्रकार सम्मेलन गर्दै उक्त टायल बजारमा ल्याएको जानकारी दिएको हो ।
भुईँ र भित्ताको लागि सबै प्रकारको टायल उत्पादन गर्ने यो नेपालको पहिलो र सबैभन्दा ठूलो टायल कम्पनी हो । नवीन तथा आकर्षक डिजाइनयुक्त टायलको उत्पादनद्वारा टायल बजारलाई नै पुर्नपरिभाषित गर्ने सोचसहित प्राइम सेरामिक्स प्रालीले रौतहटस्थित वृन्दावन नगरपालिका ६ मा १० बिघा क्षेत्रफलमा अत्याधुनिक इटालियन प्रविधिद्वारा पूर्णरुपमा स्वचालित उद्योगको स्थापना गरेको छ ।
विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनीको सम्पूर्ण मेसिन प्रयोग गरेको यस उद्योगको उत्पादन गुणस्तरको हिसाबले कुनै पनि तवरले कम नरहेको र अन्य अन्तर्राष्ट्रिय ब्रान्डसँग समेत प्रतिस्पर्धा गर्न सक्ने क्षमताको छ ।
हाल वार्षिक १५ अर्ब रुपैंया बराबरको टायल नेपालमा आयात हुने गरेको छ । चर्को ढुवानी खर्च, उच्च भन्सार दर र अन्य अतिरिक्त खर्चका कारण टायल आम नेपाली उपभोक्ताको लागि अत्यधिक महँगो र पहुँचभन्दा बाहिर रहेको परिप्रेक्षमा यस उद्योगले देशको कुल खपतको लगभग एक चौथाइ माग पूरा गर्नेछ ।
साथै उद्योगले आयात प्रतिस्थापन गर्ने, विदेशी मुद्रा बाहिरिनबाट रोक्ने, रोजगारीको सृजना गर्ने तथा स्वदेशी माटो र अन्य कच्चा पदार्थको प्रयोग गरी आयातित टायलभन्दा १५–२० प्रतिशत सस्तो मूल्यमा टायल उपलब्ध गराउने जनाएको छ । स्वदेशमा उत्पादन हुने भएकोले उपभोक्ताले चाहेको बेला टायलको माग गर्न सक्ने, आर्किटेक्ट एवं डिजाइनरहरूले आफ्नो चाहनाअनुसारको डिजाइन समेत विकास गर्न सक्ने तथा मूल्य पनि सस्तो पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले एकै छाना मुनी घरायसी, व्यापारिक, पूर्वाधार परियोजना तथा सार्वजनिक स्थल आदीमा प्रयोगको लागि हाल अधिकतम २/४ फिटसम्मको आकारमा २५० डिजाइनभन्दा बढीको भित्ता र भुईँमा लाग्ने टाइल्स् उत्पादन गर्नेछ । दैनिक डेढ लाख वर्ग फिट उत्पादन क्षमता रहेको यस उद्योगले तीन सय जनालाई रोजगारी दिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस