aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सीआईबीको निष्कर्ष : ललिता निवास प्रकरणमा ३ दर्जनलाई कारवाही हुनुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ असोज २०७६
सीआईबीको निष्कर्ष : ललिता निवास प्रकरणमा ३ दर्जनलाई कारवाही हुनुपर्ने


काठमाडौँ । प्रहरीले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि ठगी कसूरमा कारबाही गर्नपर्ने निष्कर्षसहितको प्रतिवेदन ल्याउन लागेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ महिना लामो छानबिनपछि अन्तिम रूप दिन लागेको प्रतिवेदनमा 'भूमाफिया' किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी, ललिता निवासका तत्कालीन भोगाधिकारी रुक्मशमशेर राणा तथा उनका दुई भतिजा हाटकशमशेर र हेमाद्रीशमशेरसहित ३ दर्जन व्यक्तिलाई कारबाही गरेर जग्गा फिर्ता ल्याउनुपर्ने औल्याएको हो।

प्रहरी मुख्यालय स्रोतका अनुसार अहिलेसम्म ३७ जना आरोपीसँग बयान लिइएको छ। तीमध्ये अधिकांशले कसुर नस्विकारे पनि उपलब्ध तथ्य र प्रमाणअनुसार उक्त जग्गा सरकारकै नाममा कायम गर्नुपर्ने अनुसन्धानको निष्कर्ष छ। एसपीको नेतृत्वमा ६ महिनादेखि अनुसन्धान जारी छ। 'सीआईबीले बयान लिएका आरोपीविरुद्ध साबिक मुलकी ऐनको ठगी महल अन्तर्गत कारबाही र हडपिएको जग्गा फिर्ता ल्याउनुपर्ने गरी प्रतिवेदनको खाका तयार भएको छ,' स्रोतले भन्यो, 'केही प्राविधिक पक्ष बाँकी रहेकाले अनुसन्धान प्रतिवेदनलाई पूर्णता दिन सकिएको छैन ।

पूर्वसचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा गठित छानविन समितिको प्रतिवेदनका आधारमा २०७५ मंसिर २८ को मन्त्रिपरिषद बैठकले उक्त प्रकरणमा थप अनुसन्धान गर्न व्यरोलाई जिम्मा दिएको थियो। व्यरोले तत्कालीन भोगाधिकारी
रहेका राणा परिवार, मालपोतका कर्मचारी र भूमाफियाको सेटिङमा सरकारी जग्गा हडपिएको निष्कर्ष निकालेको छ । 
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ । 

प्रतिक्रिया दिनुहोस