काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको आजको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए । प्रदेशसभामा भएको मत विभाजनमा बहुमत सांसदको समर्थन नपुगेपछि उनको नेतृत्वको सरकार ढलेको हो ।
कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ (४) बमोजिम सो प्रस्ताव पेस गरेका थिए ।
कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमा आज ८९ जना सांसदहरु उपस्थित रहेका थिए । मुख्यमन्त्री कार्कीलाई बहुमतका लागि ४७ मत आवश्यक रहेको थियो । तर, उनको पक्षमा ४६ मत मात्रै खसेको थियो भने विपक्षमा ४३ मत खसेको थियो । कार्कीलाई एक मतको अभावका कारण उनको नेतृत्वको सरकार ढलेको हो ।
बिहिबार बसेको प्रदेशसभाको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो । बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर्को सूचनामा बैठक स्थगन भएको उल्लेख थियो । कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस