काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार शुल्क घटाउने तयारी गरेको छ। यसका लागि आवश्यक सुझाव दिन बोर्डले एक समिति गठन गरेको छ। उच्चस्तरीय वित्तीय समन्वय समितिको निर्देशनमा बोर्डले शुल्क घटाउन गृहकार्य थालेको हो।
यसअघि अर्थ मन्त्रालयले गठन गरेको मुद्रा तथा पुँजी बजार सुधारका लागि सुझाव दिन डेपटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिले बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क घटाउनुपर्ने सुझाव दिएको थियो । ती सुझाव कार्यान्वयनका लागि उच्चस्तरीय समन्वय समितिले बोर्डलाई निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरी प्रतिवेदन बुझाउन भनेको हो।
'सीडीएससीको प्रणालीमा एक महिनाभित्र पूर्ण रूपमा आबद्ध गरी सञ्चालनमा ल्याउने र यो व्यवस्था लागू भएपश्चात् धितोपत्र व्यवसायीले लिने सेवा शुल्कमा पुनरावलोकन गर्ने भन्ने उल्लेख भएको, हाल अनलाइन कारोबार प्रणाली सुरु भैसकेको, धितोपत्र कारोबारको दायरा फराकिलो बन्दै गएको छ' बोर्डको 'विज्ञप्तिमा भनिएको छ, 'लगानीकर्ताबाट धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क घटाउनुपर्ने भन्ने गुनासोसमेत प्राप्त भएको पृष्ठभूमिमा बोर्ड, नेप्से र धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्क (ब्रोकर शुल्क का सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्याससमेत अध्ययन गरी सुझाव पेस गर्न ।'
हाल धितोपत्र ब्रोकरले कुल कारोबारको ०.४ देखि ०.६ प्रतिशतसम्म कारोबार शुल्क लिन पाउने व्यवस्था छ । ब्रोकरले ट्रस्टी ऐन सम्बन्धी कार्य अघि बढाउन र संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धमा अध्ययन गरी सुझाव पेस गर्न पनि एक समिति गठन गरेको जनाएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेटमा सामूहिक लगानी कोष, सेयर अभौतीकरण र सीडीएससीलगायतको कार्य व्यवस्थित गर्नका लागि ट्रस्टी ऐन तर्जुमा गर्नेभन्ने उल्लेख छ,' विज्ञप्तिमा भनिएको समाचार आजको कान्तिपुरमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस