सन् १९८० मा परराष्ट्र मन्त्रालयबाट पेरिसमा फ्रेन्च भाषा र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध पोस्ट ग्रेजुएटको अध्ययन गर्न गएको थिए । सन् १९८१ अगस्टको आखिरमा उत्कृष्ट नतिजा लिई फर्केकोमा परराष्ट्र सचिव साह्रै नै गद्गद् हुनु भएको मैले पनि महसुस गरेको थिए । सायद, फ्रान्सबाट राम्ररी पढि आउने म पहिलो अफिसर पनि भएको हुनाले पनि होला । सचिवले मलाई धेरै नै माया गर्दै अरूहरूलाई पनि खुसी व्यक्त गर्नुभएको थियो ।
भोलिपल्ट मन्त्रालय जाँदा सचिव जगदीश शमशेर राणाले बोलाई भन्नुभयो – रामभक्त, तिमी श्री ५ सँग पेरिसमा हुन लागेको अतिकम विकसित राष्ट्रहरूको प्रथम शिखर सम्मेलनमा हिँड । तिम्रो पढाइ पनि यही विषयको भएको र फ्रेन्च भाषा पनि जानेको हुनाले मद्दत हुने छ । अं, राजाको एउटा भाषणको पनि तयार पारेर २–४ दिनभित्रै देऊ ।
म अवाक् भए । सोचेकै थिइन यसरी भाग्य ममाथि कृपा गर्ने छ भनेर । बोल्नै सकिन । हात जोडें त्यहीँ नै उभिराखें । “ल । ल । अहिले दुई बजे दरबार जान्छु, तिमी पनि हिंड, राजासँग दर्शन गराउँछु, अनि आफ्नो काममा लाग्नू ।” सचिवले सारा कुराहरू एकदम सजिलो गरी भन्नुभयो तर मेरो लागि खुसी र भाग्य छाना फोडेर झरे जस्तो अनुभव भइरहेको थियो । युवा अफिसर, तिस एकतिसको उमेर होला ।
“हवस् ! म तयार रहन्छु ‘म अत्यन्तै खुसी भएर जवाफ दिए । मन मनमा साँचे, पहाड–तराई भन्ने केही हुँदो रहेछ । मेहनत गरे र इमान्दार भए सबै दुर्लभ पनि प्राप्त हुँदो रहेछ । मनमनै मैले सचिवको भलोको कामना गरे । यस्तो राम्रो सचिव पनि हुँदो रहेछ । मधेशको कर्मचारीलाई दुर्गाति हुन्छ भनी सुनेको थिएँ, त्यस बेला सबै असत्य साबित भएको अनुभव गरे ।
अपराह्न सचिवसँग दरबार मङ्गल सदनमा गए । बाहिर केही बेरसम्म कुनुपर्यो । अनि भित्रबाट बोलाहट आएपछि सचिवसँगै म पनि भित्र गए। जीवनमा पहिलोचोटि दरवारभित्र गएको थिए । मनमा डर जस्तो लागि रहेको थियो । केही गल्ती होला कि मबाट किनभने दरबारिया धेरै कुरा मलाई थाह थिएन। सचिवसँगै म राजाको अगाडि उभिरहेको थिए ।
सचिवले राजाको दर्शन गर्नुभएको जस्तै मैले पनि गरेँ । ‘सरकार ! यो सेक्सन अफिसर रामभक्तले पेरिसबाट धेरै राम्रो पोस्ट ग्रैजुएट पढेर आएको छ । यसलाई पनि भ्रमण दलमा सामेल गर्छ कि ? त्यहाँ भाषामा सजिलो पनि हुने छ ।’ म हाथ जोडेर खडा भएको थिएँ ।
“कति समय पढ्यौ“ ? राजाले मलाई हेरी सोध्नुभयो । “डेढ वर्ष ।“ शान्त जवाफ दिए । त्यसपछि केही कुरा भएन । सचिवले मलाई बाहिर गएर कुनै भनेर आफू भित्रै बस्नुभयो ।
एक हप्ताभित्रै मैले एउटा भाषण लेखेर सचिवलाई दिए। पछि थाहा पाएँ, भाषण ५ ठाउँमा लेखाइएको रहेछ । मलाई भ्रमणको अग्रिम दलमा जान सबै स्वीकृत भयो । पैसा, पासपोर्ट आदि सबै लिएर तयार भए । पढेर आएको ८–१० दिन पनि भएको थिएन म फेरि पेरिस रवाना भएँ । मसँग अग्रिम दलमा सँगै जाने सैनिक, प्रहरीको एस.पी., सूचना विभागका महानिर्देशक र एक जना अरू थिए । याद भएन को थिए । हामी चार जना विधिवत् तरिकाले पेरिस प्रस्थान गर्यो ।
पेरिस स्थित राजदूतावासलाई हामी आउने जानकारी गराइसकेको हुनाले चार्ल्स द गाल अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका कर्मचारी हामीलाई लिन आएका थिए । हामीलाई त्यहाँ केही असुविधा भएन । दूतावासका कर्मचारीले हामीलाई लिएर सोझै साँजे लिजे नजिक रुद वासिङ्गटनमा रहेको हाम्रो राजदूतावासमा राजदूत साहेबसँग भेटाउन लगे। राजदूत कृष्णराज अर्याल मलाई राम्ररी चिन्नुहुन्थ्यो । भखरै पढेर फर्केको ।
मलाई नेपालमा हेरी खुसी हुनुभयो । र हामी सबैको स्वागत गर्नुभयो । त्यहाँ गर्नुपर्ने कुराहरू हामीलाई बताएर हामीलाई ठीक गरेको होटलमा छाडी आउन र रात्रिको खाना उहाँकै निवासमा खानेसम्म निम्ता गर्नुभयो । हामी सबै दङ्ग परी उहाँलाई धन्यवाद दिँदै कन्कर्ड नजिकैको कोठाहरू रिर्जव गरेको होटलमा हामीलाई पुरÞ्याइयो । त्यस बेला दिउसोको करिब तीन बजेको थियो ।
हामी निक्कै खुसी थियौं । यद्यपि म त्यस ग्रुपमा सबैभन्दा कम उमेरको थिएँ । कुराकानी त्यति नमिले पनि भाषाले गर्दा सबैले मलाई महत्त्व दिएर के के गर्ने सबै बताउदै थिए । साँझ पर्याे र हामीलाई राजदूतावासको गाडी लिन आयो । सबै हामी तयार भई राजदूत निवास गयौं ।
बाटोमा पेरिसको झिलमिल, राम्रा सुकिला मान्छे, पुरुष महिलाका जोडी, फेसन, शालीनता हेर्दै साँजे लिजे एभेन्युबाट चार्ल्स दगाल एत्वालबाट मोडेर हामी २०–२५ मिनेटमा राजदूत निवास पुग्यौं । तीन तल्ले फ्रेन्च डिजाइनको घर । बाहिर ठुलो ढोका । एक जना अर्दलीले हामीलाई स्वागत गरी माथि लिएर गए । मेरो जीवनमा शाही भ्रमणको सिलसिलामा सबै पहिला चोटि देखेर अचम्म लागिरहेको थियो ।
मानिस, जीवन, सभ्यता तथा संस्कृतिको मूल्य मन मनै मिलाउदै थिए । त्यस बेला त मलाई पेरिस पृथ्वीको स्वर्ग नै हो भन्ने कुरामा विश्वास हुन थालेको थियो । माथि राजदूत साहेबले हामीलाई न्यानो माया साथ स्वागत गर्नुभयो र सरकारको सवारीलगायत कार्यक्रम, युनोस्कोमा उद्घघाटन र अन्य क्रियाकलापबारे चर्चा गरी भोलिपल्टदेखि नै काममा लाग्न निर्देशन दिनुभयो । नेपाली खाना तयार थियो । हामीले सँगै खायौ र रात्रि नौ बजेतिर आफ्नो होटलमा फर्की सुत्यौं ।
भोलिपल्टदेखि नै युनेस्को, फ्रेन्च सरकार (जसको अफिस युनेस्कोमा नै अस्थायी राखेको थियो), सुरक्षा, प्रेस, अन्य कार्यक्रमहरूबारे व्यवस्था गर्न युद्धस्तरमा लाग्यौं । भ्रमण दलका ३२–३३ जना आउने भएपछि सबैको सुत्ने, खाने, यातायात आदिको व्यवस्था गर्नेतर्फ हामी जुट्यौं । यो भ्रमण औपचारिक भए तापनि संयुक्त राष्ट्र सङ्घसँग सम्बन्धित भएको हुनाले पाँच जना अतिथिबाहेक सबै हामीले मिलाउनुपर्ने फ्रेन्च सरकारले बताएको हुनाले हामी हरेक पक्षलाई ध्यान दिएर व्यवस्था गर्दैथ्यौ ।
राजारानी बस्ने कन्कर्ड स्क्वारकै पश्चिमको ठुलो अतिविशिष्ट होटल कन्कर्डमा व्यवस्था गन्य। फ्रेन्च सुरक्षा र परराष्ट्रका पनि अधिकारीहरू साथमा थिए । भव्य सुइट थियो । नेपोलियनको नामको त्यो सुइट हेर्दा म रहन सहनको उच्चस्तरको कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगेको थिए । बिस्तारै समय पनि बित्दै गयो र राजाको सवारी आउने भयो । हामी सबै चार्ल्स द गाल विमानस्थलमा राजदूत साहेवसँग गएर स्वागत गर्न गयौं । फ्रेन्च सरकारतर्फबाट कोपरेसन मन्त्री पनि विमानस्थलमा राजा–रानीको स्वागत गर्न गयो र सवारी कन्कर्ड होटलतिर लाग्यो । राजारानीलाई स्वागतसहित होटलको कोठामा स्थापित गरेर हामी फक्यौं ।
भोलिपल्ट एल.डी.सी. (अति कम विकसित देशहरू) सम्मेलनको फ्रान्सका राष्ट्रपति फंसर्वा मितरांबाट उद्घाटन थियो र त्यसैक्रममा इस्काेप इक्वा ‘इकोनोमिक सोयिल कम्युनिकेशन फर वेस्ट एसिया’ क्षेत्रको तर्फबाट राजाबाट सम्बोधन थियो । हामी सबै खुबै उत्साहित थियौं । सारा कुराहरू मिलाएपछि भोलिपल्ट राजारानीलाई लिएर राजदूतलगायत म पनि सँगसँगै युनेस्को हलतर्फ लाग्यौं र मञ्चमा राजालाई राखेपछि दर्शक दीर्घामा आएर बस्यौं । राजाको सम्बोधन अत्यन्त नै मर्मस्पर्शी र भावुक बनाउने थियो । सबैले ठुलो तारेफ गरे । प्रेस, पत्रपत्रिका पनि राम्रो प्रशंसासहित चर्चाहरू गरेको पाइयो । मुख्य काम सकेपछि अरू दलका सदस्यहरू आफ्नु कमिटीमा छलफल गर्न थाल्नुभयो ।
यसै क्रममा खाली समयमा रानीले फ्रेन्च सिफन साडी खरिद गर्ने इच्छा व्यक्त गर्नुभयो । शनिबार साँझमा राजासँगै बसेर तमाम दलका सदस्य खाना खाँदै कुरा भइरहेको थियो । यो चाहिँ मुस्किलको काम थियो । रात्रिको ८–९ बजे थियो । भोलिपल्ट आइतबार । पेरिसका सबै पसल बन्द । अनि यो जिम्मा मैले पाएँ। चिटचिट पसिना निस्कयो । मैले हाथ जोडेर भनें– “सरकार ! भोलि बन्द छ, गाह्रो हुन्छ कि ?
सरकारका सचिवहरू सबैले अचम्मित भएर मलाई हेरिरहेका थिए । तर कसैले केही भनेनन् । राजदूतले आंखाले केही इसारा गर्नुभयो तर मैले बुझिन । रानी शान्त भएर सुनिराख्नुभएको थियो । केही बोल्नुभएन ।
“यु ट्राई, एम्बेसडर नोज वेल । “राजाले सजिलो पार्दै भन्नुभयो । हुन त हो, राजदूत साहवले १–२ चोटि मलाई त्यहाँ पहिले पढ्दाखेरि साडी काममा लगाइसक्नुभएको थियो । तैपनि म आत्तिएको थिए । ‘हेर न’ भनेको मतलब नै आदेश हो । त्यहाँ कति सदस्यहरू खुवै खुसी भए जो मैले भाषाले गर्दा राजारानीसंग पाएको प्राथमिकतालाई मन पराएका थिएनन् । भगवान्लाई धेरै धन्यवाद मलाई राजदूतले मद्दत गर्नुभयो । साथै मलाई त्यो मानिसको सम्झना पनि भयो जससंग त्यहाँ पढ्ने बेलामा पनि राजदूतावासका लागि फ्रेन्च सिफन खरिद गरी ल्याउने काममा मद्दत गरेको थिएँ। उसको पसल ओपेरा जाने बाटोमा पथ्र्यो । तर आइतवारले मलाई मुस्किलमा पारेको थियो ।
‘सरकार ! म पूरा कोसिस गर्छु ।’
राजा मुसुक्क हाँसेको देखें तर रानीलाई सायद त्यति खुसी देखिन ।
राजाको भोजपछि म सिधा भागेर नजिकै रहेको आफ्नो होटलमा गएँ र साडी व्यापारी रामजे भन्ने व्यक्तिलाई फोन गरेँ। उनी यहुदी थिए । नेपाललाई माया गर्ने व्यापारी । कति कति साडी पठाएको हुनाले मेरो फोन पहिले पटकमा उठाए । उसको अगाडिको अक्षर पनि राम र मेरो पनि पहिलो अक्षर राम भएकोले मैले ऊसँग दोस्ती बनाएको थिएँ । उसो त मलाई कूटनीतिक क्षेत्रमा अहिले पनि पुराना विदेशी साथीहरू रामको नामले नै चिन्दछन् ।
‘के पयो राम यस्तो राति फोन गयौ ?’ व्यापारी रामजेले सोधे । ‘मुस्किल पन्यो, तिमीले मद्दत गर्नुपन्यो, नत्र मलाई नराम्रो होला ।’ मैले एकै सासमा सारा कुरा बताए । हुन्छ, म एक बजेपछि पसल त खोल्दिन तर ढोका खोलेर बस्छु । आए हुन्छ । भित्र पसेर जति साडी लिन चाहे हेरेर मलाई बताउनु भोलिपल्ट म होटलमा पठाइदिनेछु । रामजेले मलाई निश्चिन्त गर्दै भने ।
मैले बल्ल शान्तिको सास फेरे र फोनबाट राजाका सचिव गेहेन्द्रमान जोशीलाई भोलि १ बजेपछि जाने मिलाएको जानकारी गराए । सचिव खुसी हुनुभयो । भोलिपल्ट रानी र रानीका अङ्गरक्षक मेजर साहब केसीलाई लिएर रामजेको पसलमा पुगे । तल बन्द थियो । माथि जाने ढोका खुला थियो । त्यसैबाट चढेर एकतल्लामा करिव करिव स्टोर जस्तै साडी झुण्ड्याएको हलमा रामजेले स्वागत गयो। बाहिरको झ्याल पनि खोलेर बरू बत्ती बालेर झुन्ड्याइएका सबै साडीहरू रानीलाई देखाउन थाल्यो । भित्र साडीको अम्बार लागेको थियो र आवागमन गर्न निकै गाह्रो थियो। म रानीकै छेउमा उभेर रामजेले भनेका सबै कुराहरू नेपालीमा रानीलाई सुनाउँदै थिए ।
मेजरसाहब त्यो हलको एक कुनामा उभेर सबै हेर्दै हुनुहुन्थ्यो । रानीले मन पराएका साडीहरू रानीका सुसारेहरू एउटा ठुलो थैलामा राखिरहेका थिए । त्यसैबेला रानीको नजर कुनै राम्रो नयाँ आएको साडीको डिजाइनमा पयो। रामजेले त्यो साडीलाई देखाउन अघि बढिसकेको थियो। म रानीलाई अघि बढ्न ठाउँ छाड्दै थिएँ त्यसै बेला रानीको खुट्टा साडी वा कैमा अल्केर रानी लड्खडाउनुभयो र लड्ने स्थितिमा पुग्नुभयो ।
म त्यही संगै उभेको थिए । रानी लड्न लागेको देखेर दुबै हातले रानीलाई समातेर सम्हालेँ । रानी एक छिनमा सामान्य अवस्थामा पुग्नुभयो । रानी लड्खडाएको देखेर अङ्गरक्षक भेजर साहब पनि दौडेर पुग्नुभयो तर तबसम्म अवस्था सामान्य भै सकेको थियो । तर म भित्र कुन्नी किन हो भय पैदा भएको थियो र जिउ कामिरहेको थियो ।
उपरान्त साडीरू सबै मन पराएर साहु रामजेलाई जिम्मा लगाइयो । उसले भोलिपल्ट होटल कन्कर्डमा पुयाइदिने भन्यो । हामी सबै रानीको सवारी त्यहांबाट फिर्ता होटलमा लिएर आयौँ । होटलमा गएर एकछिन आराम गरे । पछि तल लबीमा ओर्लिंदा त असामान्य अवस्था भेट्टाएँ । सबै गम्भिर, कोही पनि नबोल्ने म कसै कहाँ गए पनि अर्कोतिर लाग्ने । “के हो यो ? किन यस्तो वातावरण ? के भएको छ यहाँ ? अहिलेसम्म त सब ठिकै थियो ?’
मेरो मनमा हजारौं प्रश्नहरू उत्पन्न हुन थाले । पछि थाह भयो कि रानी लड्दा मैले समातें भनेर खैलाबैला भएछ । कोहीले मलाई तिमीले नराम्रो गर्यो भन्छ, कोही दण्ड हुन्छ भन्छन् त कोही इनाम पाउन सक्ने पनि बताए । तर सबै चुपचाप शान्त भावले मानौ इसारामा कुराकानी भइरहेको थियो ।
१५–२० मिनेटपछि राजाको निजी सचिव नारायण श्रेष्ठ र परराष्ट्र सचिव जगदीश राणाले मेरो बाहुला तान्दै एक कुनातिर लग्नुभयो र सोध्नुभयो– “होइन, के भएको हो ? रानीलाई तपाईंले समातेको हो ?“ मलाई काटे रगत पनि नआउने गरी यी शब्दहरूले प्रहार गयो । खुट्टामुनिको जमिन नै हटेको जस्तो लाग्यो। एक छिन त रिङ्गटा लाग्ला जस्तो भयो । सम्झना आएन कि के भयो त्यस्तो ? किन यति मात्रामा सङ्कटकालीन अवस्था जस्तो परिस्थिति उत्पन्न भएको ?
मैले आफूलाई सम्हाले । बोल्न खोज्दा बोली पनि प्रस्ट निस्केन । सचिवजीसँगै म पनि कुर्सीमा बसें ।
“होइन, सत्य कुरा बताऊ रामभक्त,
म तिमीलाई न्याय दिलाउँछु” परराष्ट्र सचिवले मलाई हिम्मत दिनुभयो । “मलाई केही थाह छैन के भएको हो, तर रानी लड्न लाग्दा मैले दुवै हातले रोकेँ नत्र रानी तल भुइँमा लड्नुहुन्थ्यो ।’ मैले धेरै हिम्मत जुटाएर भने ।
‘ल ठिक छ, चिया खाऊ, अब राति कुरा हुँदा म सबै कुरा राजामा जाहेर गर्छु, पछि के हुन्छ मलाई थाहा छैन, तर कुरा धेरै गम्भीर छ ।’
‘मैले त रानीलाई लड्नबाट बचाएको हो,’ मैले हिम्मतसाथ भनें । राजाका सचिव र परराष्ट्र सचिव दुवै उठ्नुभयो र जाँदा जाँदै भन्नुभयो– “अब राति थाह हुन्छ ।“ अनि दुवै माथि तल्लामा भयाङ्गबाट जानुभयो । मलाई अब एक मिनेट पनि काट्न मुस्किल परेको थियो । छटपट भयो । सबै साथीहरू यताउती गए। मसँग कोही पनि बसेन । मेरा सारा सापनाहरू ऐना जस्तै फुटेर झरेको जस्तो भयो । यहाँ आउँदा कति उत्साहित भएर आएको थिएँ र आज भविष्य नै के होला भनी दाउमा लागेको भान भयो ।
राति आठ बजे राजाको बैठकमा बिस्तारै सबै जम्मा हुन थाले । म पनि एक कुनामा राखेको कर्सीमा बसें । सधैँ मसँग खुब गफ गर्ने साथी, सचिव, सुरक्षा अधिकारी, प्रेसका व्यक्ति, कोही पनि बोल्न रुचाएनन् । मलाई लाग्यो सायद मैले कुनै जघन्य अपराध या पाप गरेको छु । किन यसरी अपहेलित भएको ?
सबै रेस्टुरामा खान गए । मलाई खान मन लागेन । मनमा ज्वारभाटा उठेको अनुभूति भइरहेको थियो । आँखामा आँसु गहभरि भरेर आयो । चुपचाप म आफ्नो कोठामा गएर ईश्वरलाई सम्झदै ओछ्यानमा लडें । मैले अब के गर्ने समझमा आइरहेको थिएन । मेरो कोठामा दुई वटा बेड थियो । अर्को बेडमा एक जना लपटेन सुत्थे । उनी त्यस बेलासम्म आइपुगेका थिएनन् । यसै गरी कोल्टो फेर्दा फेर्दै धेरै रात बितिसकेको थियो । अचानक बेल बज्यो र मैले ढोका खोलें– लपटेन रहेछन् । “अहिलेसम्म नसुतेको ?” उनी लरबराउँदै मलाई सोधे ।
“निद्रा छैन ।” उनले मलाई हेरे । “किन उदास जस्तो देखिन हुन्छ ? आँखामा पनि आँसु देख्छु, के भएको हो ?“ मैले सारा कुरा केही नलुकाई उनलाई सुनाए । “ए ! अनि त माथि कुरा जरसाबले गर्दै हुनुहुन्थ्यो । नडराउनु, जानेर गरेको होइन, राम्रैको लागि गरेको हो .. ल सुत्नुस्, म त सुते“ भनी उनी आफ्ना ओछ्यानमा डङ्गरङ्ग लडिहाले । म छटपटाउँदै रातभरि सुत्न सकिन । भोलिपल्ट सबै नास्ता खाने बेलामा जम्मा भएर राजारानी त्यहाबाट इटलीको भेनिस सवारी हुने तयारीमा जुटे। मेरोबारेमा कसैले केही कुरा गरेन । सचिवज्यूहरूले पनि गर्नुभएन ।
यसप्रकार पेरिसबाट, भेनिस, दोहा, करांची नेपाल राजारानीको सवारी फिर्ता भयो । सब आफ्नो काममा लाग्नुभयो मानौ पेरिसमा कनै घटना नै घटेको थिएन । केही दिनमै मेरो पोस्टिङ्ग चीनस्थित नेपाली राजदूतावासमा द्वितीय सचिवको रूपमा भयो ।
पेकिङ्ग गएपछि त्यहाँ मैले थाह पाए शाही भ्रमण दलका सबै सदस्यहरूलाई राजाले तक्मा दिनुभएछ । रानीको कपाल कोर्ने सुसारे । हेयर ड्रेसर देखि जुत्ता पालिस गर्ने अर्दलीसम्म सबैले पाए। एउटा मलाई मात्र छुट्याइयो । किन होला, थाह छैन ? त्यस बेलाको परम्परा सरकारी भ्रमण दलका सबैलाई तक्मा प्रदान हुन्थ्यो ।
मलाई आजसम्म थाहा भएन मैले रानीलाई लड्नबाट बचाएर राम्रो काम गरेँ या खराब ? मलाई दण्ड भी या पुरस्कार अझै बुझेको छैन । तर यो मेरो मनमा आजसम्म गडेको छ यदि त्यस बेला मैले गोदवा पाएको भए म आफ्ना समकालीनहरूभन्दा धेरै पहिले नै पदोन्नति पाएर, धेरै धेरै नै माथिका ओहदामा पुगिसक्ने थिएँ होला । रानी लड्दा समातेको पेरिसको त्यो दुर्दिन आजसम्म मलाई बिझाइरहन्छ ...! नेपालमा कुटनीतिक कम्पनबाट साभार,लेखक डा.ठाकुर पूर्व राजदूत समेत हुन्)
प्रतिक्रिया दिनुहोस