जुम्ला । स्थानीय सरकार आएपछि गाउँगाउँमा सडक निर्माणलाई प्राथमिकता दिँदै करोडौं बजेट खर्च गरे । सोहीअनुसार कर्णाली रोजगार कार्यक्रमअन्तर्गत जुम्लाका ६० वटा वडामै डोजर चालकहरू प्राविधिक बन्दै सडक निर्माण गरे।
जसका कारण कतै बस्ती जोखिमदेखि मापदण्डविपरीतका सडकले दिगो विकासमा बाधा पुगेको छ। स्थानीय उत्पादनलाई बजारीकरण गर्ने, सामान ढुवानीमा सहजता ल्याउने लक्ष्यका साथ करोडौं बजेट खर्च गरी सडक निर्माण भए पनि नागरिकलाई पुरानै दुःख जस्ताका तस्तै छन् ।
तिला गाउँपालिका-९ का मुनबहादुर थापा अहिले गाउँगाउँमा खच्चडमार्फत दैनिक उपभोग्य सामान पुर्याउँछन् । दसैंतिहार नजिकिँदै गर्दा उपभोग्य सामान पुऱ्याउँदैमा उनको दिन बित्छ।
उनले उपभोग्य सामान सेरीबजारदेखि ओसार्छन्उ नी भन्छन्, “गाउँमा सडक पुग्दापुग्दै खच्चडलाई बोकाएर र मानिसले नै पिठ्युमा बोकेर दैनिक उपभोग्य सामान लैजानु रहर नभई बाध्यता हो ।”
त्यस्तै तातोपानी-८ बारागाउँका शेरबहादुर रावतको गाउँमा पनि सडक पुगेको एक वर्ष भयो । तर उनको दैनिकी पनि खच्चडमा सामान बोक्दै बित्छ। गाउँमा सडक पुगे पनि सवारी नपुग्दा पुराना दुःख उस्तै रहेको उल्लेख गरे। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस